
काठमाडौं । नेपाली कांग्रेसभित्र शक्ति संघर्ष चर्किएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नराम्रोसँग पराजय बेहोरेको कांग्रेस पछिल्लो समय झन् आन्तरिक विवाद र दलदलमा फस्दैछ ।
नेताहरुको शैली र व्यवहारका कारण पार्टी समानान्तर गतिविधितर्फ उन्मुख भइरहेको छ । निर्वाचनमा अप्रत्याशित पराजयपछि कांग्रेस गम्भीर आन्तरिक संकटमा फसेको हो । सभापति गगनकुमार थापाले नेतृत्व सम्हालेको ६४ दिनमै राजीनामा दिएपछि पार्टीभित्र शक्ति सन्तुलन झन् अस्थिर बनेको छ ।
उनले बुधबार राजीनामा दिएका थिए । पराजयको जिम्मेवारी लिँदै आएको राजीनामालाई संस्थापनइतर अर्थात्, शेरबहादुर देउवा पक्षधरले असफल नेतृत्वको परिणामका रूपमा व्याख्या गरिरहेका छन् । देउवा समूहले अब विशेष महाधिवेशनको औचित्य सकिएको भन्दै नियमित १५औं महाधिवेशनको तयारीमा लाग्नुपर्ने अडान लिएको छ ।
निवर्तमान सभापति देउवा निकट नेताहरूले १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै वैधानिक ठान्दै सोही संरचनाबाट आगामी महाधिवेशन गरिनुपर्ने दाबी गरिरहेका छन् । दुवै पक्षबीच मुख्य विवाद महाधिवेशन गराउने अधिकारको विषयमा केन्द्रित छ । त्यो विवाद अहिले अदालतमा विचाराधीन छ ।
संस्थापन वा थापा पक्षधर विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई वैधानिक मान्छ । इतर समूह पुरानै कार्यसमिति पुनःस्थापनाको पक्षमा छ । यही अन्योलका बीच देउवा पक्षले पूर्णबहादुर खड्काको अध्यक्षतामा पुरानै कार्यसमितिको बैठक बोलाउनेसम्मको आन्तरिक तयारी थालेको छ । जसलाई समानान्तर गतिविधिको सुरुवातका रूपमा हेरिएको छ ।
नेता रामहरि खतिवडाले गुटगत विवादले पार्टीलाई थप कमजोर बनाउने चेतावनी दिएका छन् । उनले अहिलेको परिस्थितिमा सबै नेताहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै पुराना र नयाँ दुवै पुस्तालाई समेट्ने वातावरण बनाउनुपर्ने बताए ।
महामन्त्री प्रदीप पौडेलले भने केन्द्रीय कार्यसमिति बैठकले १५औं महाधिवेशनको मिति छिट्टै तय गर्ने संकेत दिएका छन् । तर, देउवा समूह उक्त प्रक्रियामा सहभागी हुने कि नहुने भन्ने अझै अनिश्चित छ ।
कांग्रेसभित्र बढ्दो अविश्वास, नेतृत्व विवाद र समानान्तर गतिविधिको संकेतले पार्टीको भविष्य थप जटिल बन्दै गएको छ । अब अदालतको निर्णय र आन्तरिक सहमतिले मात्र कांग्रेसलाई स्पष्ट दिशातर्फ लैजान सक्ने नेताहरुले बताएका छन् ।
























