गुटबन्दीको आत्मस्वीकारबीच गगन थापाको राजीनामा अस्वीकृत

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ६, शुक्रबार १७:४८

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि देखिएको आन्तरिक संकट, असन्तोष र गुटबन्दीको प्रभावबीच नेपाली कांग्रेसले पार्टी सभापति गगन थापाको राजीनामा अन्ततः अस्वीकृत गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले पार्टीभित्र देखिएको विघटनकारी प्रवृत्तिको समीक्षा गर्दै नेतृत्व परिवर्तनभन्दा सुधार आवश्यक रहेको निष्कर्ष निकालेर थापाले राजीनामालाई अस्वीकार गरेको हो । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको पृष्ठभूमिमा बसेको बैठकमा प्रारम्भिक समीक्षा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

उक्त प्रतिवेदन प्रस्तुत गर्दै उपसभापति विश्वप्रकाश शर्माले पार्टीको पराजयको मूल कारण ‘चरम गुटबन्दी’ र ‘मतदातामा बढ्दो वितृष्णा’ रहेको स्पष्ट पारेका छन् । उनले भने, ‘पार्टीभित्रको आन्तरिक विभाजन र नेतृत्वप्रति जनविश्वास कमजोर हुँदै जाँदा त्यसको प्रत्यक्ष असर निर्वाचन परिणाममा देखिएको हो ।’

शर्माका अनुसार गुटबन्दी कांग्रेसभित्र सीमित समस्या नभएर देशका अधिकांश राजनीतिक दलमा फैलिएको प्रवृत्ति हो । जसले समग्र राजनीतिक प्रणालीप्रति नै मतदाताको भरोसा कमजोर बनाएको उनको भनाइ छ । उनले पार्टीभित्र उठेका कतिपय जायज आवाजहरूलाई समयमै सम्बोधन नगर्दा असन्तोष बढ्दै गएको र त्यसले चुनावी परिणामलाई प्रतिकूल बनाएको पनि स्वीकार गरे ।

यही पृष्ठभूमिमा सभापति थापाले नैतिक जिम्मेवारी वहन गर्दै पदबाट राजीनामा दिएका थिए । तर, बैठकमा प्रस्तुत गरिएको प्रस्तावमार्फत उक्त राजीनामा अस्वीकृत गर्ने निर्णय गरिएको हो । उपसभापति शर्माले सातवटा आधार प्रस्तुत गर्दै अहिलेको अवस्थामा नेतृत्व परिवर्तनभन्दा नेतृत्वलाई थप सुदृढ बनाउँदै अघि बढ्नु आवश्यक रहेको धारणा राखे ।

उनले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व आएको छोटो अवधिमा नै पूर्ण सफलता खोज्नु अव्यावहारिक हुने तर्क गरे । ‘छोटो अवधिमा नै दिगो परिणाम खोज्नु न युक्तिसंगत हुन्छ, न त व्यक्तिप्रति न्याय हुन्छ,’ उनले बैठकमा भनेका थिए । साथै, शर्माले सभापति थापाले देखाएको नैतिकता र जिम्मेवारीबोधको उच्च प्रशंसा गर्दै त्यस्तो भावनालाई सम्मान गर्ने तर पदत्याग स्वीकार नगर्ने प्रस्ताव राखेका थिए ।

कांग्रेसले पहिलो दल बन्न नसके पनि पार्टीले अघि सारेका नीतिगत एजेन्डाहरू भने असफल नभएको विश्लेषण बैठकमा गरिएको छ । प्रतिकूल राजनीतिक परिस्थिति, संगठनात्मक कमजोरी र आन्तरिक विवादका बीच चुनावमा जानुपरेको कारण परिणाम अपेक्षाअनुसार नआएको निष्कर्ष पनि बैठकले निकालेको छ ।

केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा राजीनामा अस्वीकृत गरेपछि सहमहामन्त्री बहादुर सिंह लामाले पत्रकारहरूलाई उक्त निर्णयको जानकारी गराएका थिए । उनले पार्टी अहिले आत्मसमीक्षा र पुनर्संरचनाको प्रक्रियामा रहेको र आगामी दिनमा संगठन सुदृढीकरणमा केन्द्रित हुने बताए ।

यसैबीच, थप छलफलका लागि अर्को बैठक आइतबार बिहान ८ बजेलाई बोलाइएके छ । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार आगामी बैठकमा संगठन सुधार, गुटबन्दी न्यूनीकरण र आगामी रणनीतिबारे विस्तृत छलफल हुनेछ ।

राजीनामा अस्वीकृत भए पनि कांग्रेसभित्र देखिएको संकट समाधान भइसकेको भने छैन । बरु यस घटनाले पार्टीभित्र सुधारको आवश्यकता अझै तीव्र रूपमा उजागर गरेको छ । नेतृत्वले आत्मालोचना गर्दै संगठनलाई एकताबद्ध बनाउन नसके आगामी राजनीतिक यात्रामा थप चुनौतीहरू सामना गर्नुपर्ने नेताहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.