
इटहरी । निर्वाचनको समयमा उत्कृष्ट रिपोर्टिङ गर्दै उल्लेखनीय योगदान पुर्याएको भनेर मुलुकी खबर अनलाइनका सम्पादक किशोर बुढाथोकीलाई सुनसरीको इटहरीमा पुरस्कृत गरिएको छ ।
प्रदेश खबरले सञ्चालनमा ल्याएको निर्वाचन विशेष समाचार अभियानअन्तर्गत गरिएको मूल्यांकनका आधारमा बुढाथोकीसहित प्रदेश खबर अनलाइनका पत्रकार झापाका सुरेन्द्र भण्डारीलाई पुरस्कृत गरिएको हो । कोशी एक्सीलेन्स अवार्ड, २०२६ को अवसरमा शनिबार साँझ दुवै जनालाई नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा प्रदेश खबर डटकमका अध्यक्ष पवन विवश अधिकारी तथा प्रमुख अतिथि काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए । निर्वाचन अवधिभर सक्रिय रूपमा खटिँदै तथ्यपरक, सन्तुलित र प्रभावकारी समाचार सम्प्रेषण गरेका कारण दुवै जनालाई पुरस्कृत गरिएको अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।
बुढाथोकी र भण्डारीले आफ्नो कार्यक्षेत्रबाट निर्वाचनसम्बन्धी गतिविधि, जनचासोका विषय र स्थानीय सरोकारलाई प्राथमिकताका साथ प्रस्तुत गरेका थिए । प्रदेश खबरले भविष्यमा पनि पत्रकारहरूको हौसला अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने अधिकारीले बताए ।























