कांग्रेसको चुनावी समीक्षा: अन्तर्घात र सांगठनिक कमजोरी मुख्य कारण

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ८, आइतबार १३:३९

काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा २१ वटा क्षेत्रमा आफ्नै नेता-कार्यकर्ताको अन्तर्घातका कारण पराजय भोग्नुपरेको निष्कर्ष निकालेको छ। जारी केन्द्रीय समितिको बैठकमा चुनावी परिणामको सूक्ष्म विश्लेषण गर्दै पार्टीले आन्तरिक कलह र असमझदारी नै हारको प्रमुख कारक रहेको ठम्याएको हो।

प्रवक्ता देवराज चालिसेका अनुसार ३ देखि ५ हजार मतान्तरले गुमेका क्षेत्रहरूमा आन्तरिक मतभेद र फितलो चुनावी अभियान जिम्मेवार देखिएका छन्। ५ हजारभन्दा बढी मतान्तर भएका क्षेत्रहरूमा भने विपक्षीले खडा गरेको भाष्यलाई चिर्न नसक्नु र संगठनप्रतिको जनविश्वासमा आएको ह्रासलाई हारको कारण मानिएको छ। ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको पार्टीले जम्मा १७ लाख ५९ हजार मत मात्र प्राप्त गर्नुलाई कांग्रेसले गम्भीर चिन्ताको विषय बनाएको छ।

९औँ महाधिवेशनमा १ लाख सदस्य हुँदाको तुलनामा अहिले सदस्य संख्या ८ लाख ७० हजार पुगे पनि मतको संख्या सोही अनुपातमा नबढ्नुले पार्टीको अस्तित्वमाथि नै प्रश्न उठाएको बैठकको ठहर छ। एउटा सदस्यको घरमा औसत ४ जना मतदाता हुँदा पनि सोचेजस्तो नतिजा नआउनुले संगठन र जनमतबीच ठूलो खाडल रहेको देखाएको छ।

बैठकमा आफ्नो परम्परागत भोट अन्यत्र सर्नुको कारण र मतदाताको बदलिएको मानसिकताका विषयमा गहन छलफल भइरहेको छ। निर्वाचन समीक्षाका साथै नेतृत्वको कार्यशैली र सभापतिको राजीनामाको विषयले पनि बैठकमा प्राथमिकता पाएको छ। कांग्रेसलाई पुनः सशक्त बनाएर जनतामाझ लैजाने गरी नयाँ कार्यदिशा तय गर्ने दाबी पार्टीले गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.