
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामा औपचारिक रूपमा अस्वीकृत गरेको छ ।
थापाले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको परिणामप्रति नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मा समक्ष पेस गरेको राजीनामा बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय लिएको हो । बैठकले राजीनामा अस्वीकार गर्ने मुख्य आधारमा निर्वाचन पराजयका कारण व्यक्तिगत नभई संरचनागत र परिस्थितिजन्य हुनु, वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा थापाको नेतृत्व आवश्यक हुनु, पार्टीभित्र अस्थिरता रोक्नुपर्ने परिस्थिति र आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित हुने आवश्यकता रहेको उल्लेख गरेको छ ।
बैठकमा प्रस्तुत २७ बुँदे प्रारम्भिक समीक्षा र जिल्लाबाट प्राप्त प्रतिवेदन अनुसार चुनावमा चरम गुटबन्दी, आन्तरिक असहयोग, गठबन्धन सरकारको अपेक्षाभन्दा फरक परिणाम, विगतका शासन व्यवस्थाका कमजोरी, युवा आन्दोलनको असन्तोष र डिजिटल युगमा नयाँ शक्तिहरूको फाइदा प्रमुख कारण देखिएका छन् । बैठकले व्यक्तिगत नभई प्रणालीगत र संरचनागत कारणले चुनाव हारिएको निष्कर्ष निकालेको छ ।
कांग्रेस अब १५औँ महाधिवेशनमा केन्द्रित हुनेछ । जसबाट नयाँ नेतृत्व चयन, विधान संशोधन, संगठनात्मक पुनर्संरचना र भावी रणनीति निर्धारण हुने नेताहरुले बताए । पार्टीले उच्च मनोबल कायम राख्न, अनुशासनमा रहन र एकता सुदृढ गर्न कार्यकर्तालाई आह्वान गरेको छ ।
त्यसैगरी, बैठकले निर्वाचनमा सक्रिय सहभागिता जनाउने उम्मेदवार, कार्यकर्ता, भ्रातृ संस्था र मतदाताप्रति धन्यवाद ज्ञापन गर्दै विजयी उम्मेदवारलाई बधाई दिएको छ । युद्दग्रस्त क्षेत्र र न्यायिक जाँचबुझका विषयमा सरकारसँग जवाफ माग राख्दै बैठकले पार्टीका दिवंगत नेताहरू प्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
प्रवक्ता देवराज चालीसेले पार्टी एकता र नेतृत्व स्थायित्वको महत्त्वलाई जोड दिँदै आगामी चुनौतीहरू सामना गर्न सबै कार्यकर्तालाई सक्रिय रहन आह्वान गरिएको बताए ।
























