
काठमाडौं । प्रधानमन्त्री पद सम्हाल्न लागेका बालेन्द्र शाह ‘बालेन’को शपथ ग्रहण कार्यक्रम शुक्रबार दिउँसो ठीक १२ः३४ बजे हुने भएको छ ।
उनले प्रधानमन्त्रीको शपथ लिने शुभ साइत तय गरिएको हो । शपथ समारोह सञ्चालन गर्न राष्ट्रपति कार्यालयलाई औपचारिक जानकारी दिइएको छ ।
शपथग्रहणलाई संवैधानिक औपचारिकतामा सीमित नराखी धार्मिक तथा सांस्कृतिक रूपमा पनि विशेष बनाउने तयारी गरिएको छ । स्रोतका अनुसार कार्यक्रमलाई बहुआयामिक बनाउँदै परम्परा, आस्था र विविध सांस्कृतिक अभ्यासलाई समेट्ने गरी व्यवस्थापन गरिएको हो ।
समारोहका क्रममा १०८ जना बटुकहरूले वैदिक मन्त्र उच्चारण गर्नेछन् । वैदिक परम्परामा १०८ अंकलाई अत्यन्त पवित्र मानिने भएकाले सोही अनुसारको सहभागिता सुनिश्चित गरिएको जनाइएको छ । मन्त्र उच्चारणमार्फत नयाँ सरकारको सफल कार्यकाल, देशको स्थायित्व र समृद्धिका लागि कामना गरिनेछ ।
यसैगरी, १०७ जना बौद्ध लामाहरूले मंगलकामना पाठ गर्ने कार्यक्रम तय गरिएको छ । बौद्ध परम्पराअनुसार शान्ति, सद्भाव र दीर्घकालीन स्थिरताको कामना गर्दै विशेष पाठ गरिनेछ । जसले समारोहलाई धार्मिक सहअस्तित्वको सन्देश दिने विश्वास गरिएको छ ।
त्यस्तै, सात जना ब्राह्मणहरूले शंख बजाउँदै कार्यक्रमलाई परम्परागत शैलीमा सम्पन्न गर्ने तयारी गरिएको छ । शंखध्वनिलाई शुभ संकेतका रूपमा लिने परम्परा अनुसार शपथको महत्वपूर्ण क्षणमा यसले वातावरणलाई थप औपचारिक र सांस्कृतिक बनाउने अपेक्षा गरिएको छ ।
























