
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज (बिहीबार) अपराह्न ४ बजे दलको कार्यालय वनस्थलीमा बस्ने भएको छ । बैठकको मुख्य एजेन्डा संसदीय दलको नेता चयन गर्नु हो ।
बैठकमा दलका सबै केन्द्रीय सदस्यको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । पार्टीले विधान संशोधन गरिसकेपछि संसदीय दलको बैठकबाट वरिष्ठ नेता बलेन्द्र (बालेन) शाहलाई दलको नेता चयन गर्ने तयारी छ ।
बालेन नेता चयन भएपछि रास्वपाले राष्ट्रपति कार्यालयलाई जानकारी दिनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलको नेतालाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट जितेको छ । नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यहरूले शपथ लिने कार्यक्रम बिहीबार नै छ ।
























