वर्षा र हावाहुरीको नयाँ प्रणाली भित्रिँदै 

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १२, बिहीबार ०९:१४

काठमाडौं । साताको अन्त्यतिर पश्चिमी वायु पुनः सक्रिय हुने संकेत देखिएको छ। मौसम पूर्वानुमानसम्बन्धी विभिन्न मोडेलहरूको विश्लेषणअनुसार यसको प्रभावले देशका अधिकांश स्थानमा हावाहुरी, मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरिएको छ।

मौसमविद्हरूका अनुसार हाल विकसित भइरहेको प्रणालीको प्रभाव पूर्वदेखि पश्चिमसम्म फैलिने सम्भावना रहेको छ। यद्यपि, पूर्वी नेपालमा यसको प्रभाव तुलनात्मक रूपमा बढी र पश्चिमी क्षेत्रमा कम पर्ने अनुमान गरिएको छ।

यस अवधिमा विशेषगरी पहाडी तथा तराई क्षेत्रमा हावाहुरी र चट्याङको जोखिम रहने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै, कृषक तथा सर्वसाधारणलाई सम्भावित वर्षा र हावाहुरीबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सुझाव दिइएको छ।

मौसमविद्हरूले आगामी केही दिन मौसमको अद्यावधिक जानकारी नियमित रूपमा लिइरहन पनि अनुरोध गरेका छन्।

जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूले पनि आगामी शुक्रबार र शनिबार पानी पर्ने प्रक्षेपण गरेका छन् । विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले काठमाडौं उपत्यकामा शुक्रबार र शनिबार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको बताए ।

यसअघि चैत ६ र ७ गते काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा हावाहुरी र असिनासहित पानी परेको थियो । हिमाली जिल्लाहरूमा हिमपात भएको थियो । वर्षाले खेतीपातीमा संलग्न किसानहरूलाई राहत भए पनि असिना र हुरीले भने मर्कामा पारेको थियो ।

ताजा उपग्रहमा भारत र आसपासका क्षेत्रहरूमा पानी पार्ने बादलको बाक्लो तह देखिन्छ । त्यसको असर नेपालमा पनि पर्ने सम्भावना छ । प्रिमनसुनको समय भएकाले यति बेला हावाहुरी चल्ने र चट्याङका घटना बढी हुने भएकाले सतर्कता अपनाउन सुझाव दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.