
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले आफू प्रतिपक्षमा बसेर सरकारलाई निरन्तर प्रश्न गर्ने र दबाब दिने स्पष्ट पारेका छन्। बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा पद तथा गोपनीयताको शपथ ग्रहणका लागि पुगेका साम्पाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।
सांसद साम्पाङले सरकारले गरेका गल्तीहरूको आलोचना गर्नु नै वास्तवमा सरकारलाई सही बाटोमा हिँडाउनु र सहयोग गर्नु रहेको तर्क गरे। प्रतिपक्षले गर्ने रचनात्मक विरोधले देशको हित हुने र सरकारलाई आफ्नो कार्यशैली सुधार्न मद्दत पुग्ने उनको दाबी छ। ‘हामी प्रतिपक्षमा बसेर सरकारलाई प्रश्न गर्छौँ र सघाउँछौँ। सरकारले गर्ने काममा प्रतिपक्षको आलोचनाले मार्गदर्शनको काम गर्छ र हामी कता जाँदैछौँ भन्ने कुरा निर्धारण गरिदिन्छ,’ उनले भने।
राजनीतिमा लागेपछि सर्वोच्च स्थानमा पुग्ने लक्ष्य राख्नु स्वाभाविक भएको भन्दै उनले आफ्नो राजनीतिक यात्राको उद्देश्य पनि स्पष्ट पारे। “राजनीति गर्ने मान्छेले माथिल्लो तहमा पुग्ने सपना देख्नुपर्छ, यसलाई अन्यथा मान्नुहुँदैन,” उनले थपे। धरान उपमहानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएका साम्पाङले अब केन्द्रबाटै जनताका मुद्दा उठाउने बताएका छन्।
























