
काठमाडौं । जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदनप्रति पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तीव्र असन्तुष्टि जनाएका छन् ।
उनले उक्त प्रतिवेदनलाई खेदजनक, निन्दनीय र पूर्ण रूपमा अस्वीकार्य भन्दै त्यसले राजनीतिक पूर्वाग्रह र चरित्र हत्या गर्ने मनसाय बोकेको आरोप लगाए । अध्यक्ष ओलीले आयोगको प्रतिवेदनलाई ‘मानसिक रूपमा तनाव दिने कुकर्म’को संज्ञा दिँदै यसमा चरम लापरबाही भएको टिप्पणी गरे ।
उनका अनुसार प्रतिवेदनले तथ्यभन्दा बाहिर गएर निष्कर्ष निकाल्ने प्रयास गरेको छ । जसले लोकतान्त्रिक मूल्य र विधिको शासनमाथि नै प्रश्न उठाएको छ । ‘यो प्रतिवेदन चरित्र हत्या गर्ने, घृणाको राजनीति गर्ने र स्तरहीन गतिविधिको नमुना हो,’ उनले भने, ‘प्रधानमन्त्री भएको आधारमै अपराधी ठहर गर्ने हो भने यो कस्तो न्याय प्रणाली हो ?’
ओलीले आफू घटनास्थलमा उपस्थित नै नभएको अवस्थामा समेत फौजदारी अभियोगअन्तर्गत छानबिन र मुद्दा चलाउन सिफारिस गरिएकोप्रति आपत्ति जनाए । उनले यसलाई पूर्वाग्रहपूर्ण र राजनीतिक उद्देश्यले प्रेरित कदमको रूपमा व्याख्या गरे । ‘हामीले सुरुमा नै यथार्थपरक प्रतिवेदन नआउने आशंका गरेका थियौं । त्यो सत्य सावित भएको छ,’ उनले भने ।
उनले देशमा अहिले पनि विभिन्न घटनामा मानिसहरूको ज्यान जाने क्रम जारी रहेको उल्लेख गर्दै त्यसको जिम्मेवारी कसरी निर्धारण गरिन्छ भन्ने प्रश्न उठाए । ‘अहिले पनि मान्छे मारिएका छन् । त्यसको जिम्मा कसले लिन्छ ? कति जना मारिएपछि प्रधानमन्त्री जिम्मेवार हुने ? १९ कि १८ ? भन्दै उनले प्रतिवेदनको मापदण्डमाथि प्रश्न गरे ।
आयोगमा संलग्न व्यक्तिहरू न्यायिक र सुरक्षा निकायका उच्च पदमा रहिसकेका अनुभवी भए पनि उनीहरूको निष्कर्ष निराधार रहेको ओलीको दाबी छ । उनले यस्तो प्रतिवेदनले सिंगो पार्टीमाथि प्रहार गरेको उल्लेख गर्दै एमालेविरुद्ध योजनाबद्ध रूपमा वातावरण बनाउने प्रयास भएको आरोप लगाए ।
ओलीले वर्तमान राजनीतिक परिवेशमा अस्थिरता चाहने शक्तिहरू सक्रिय रहेको दाबी गर्दै उनीहरूले घृणा र भ्रम फैलाउने राजनीति गरिरहेको बताए । ‘लोकतन्त्र र विकासको लहर ल्याएकै कारण हामीमाथि प्रहार गरिएको हो,’ उनले भने, ‘विरोधीहरूले अश्लील र कुप्रचारपूर्ण आरोपहरू पनि लगाएका छन् ।’
त्यसै क्रममा उनले पार्टीका नेता कार्यकर्तालाई अनुशासनमा रहेर काम गर्न निर्देशन दिएका छन् । पार्टीको विचार, सिद्धान्त र संगठनात्मक मर्यादाभित्र रहेर अघि बढ्न आग्रह गर्दै उनले अरूका अराजक र गलत प्रवृत्ति अनुकरण नगर्न चेतावनी दिए । ‘हाम्रो पार्टी परिवर्तनकारी र अनुशासित छ । यही नै हाम्रो बल हो,’ उनले भने ।
अध्यक्ष ओलीले दुवै सदनका सांसदहरूलाई चाँडै जिम्मेवारी तोक्ने संकेत पनि गरेका छन् । संसदीय दलका नेता, प्रमुख सचेतक र सचेतकजस्ता पदहरू पार्टीले नै मूल्यांकनका आधारमा निर्धारण गर्ने स्पष्ट पार्दै उनले पदका लागि दबाब नदिन आग्रह गरे । ‘पार्टीले काम र क्षमताको आधारमा जिम्मेवारी दिन्छ । मागेर होइन,’ उनले भने ।
कार्की आयोगको प्रतिवेदनप्रति ओलीको धारणा स्पष्ट रूपमा असन्तुष्टिपूर्ण देखिएको छ । उनले उक्त प्रतिवेदन अस्वीकार्य रहेको बताए । बरु यसले राजनीतिक वातावरणलाई नै विषाक्त बनाउने खतरा रहेको चेतावनी समेत ओलीले दिएका छन् ।
























