
काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा नेपाली कांग्रेसले पनि असन्तुष्टि व्यक्त गरेको छ ।
कांग्रेसले प्रतिवेदन अपूर्ण र अधुरो रहेको टिप्पणी गरेको छ । बिहीबार सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले प्रारम्भिक अध्ययनकै आधारमा प्रतिवेदनले घटनाको समग्र सत्य समेट्न नसकेको जनाएको हो ।
पार्टीका प्रवक्ता देवराज चालिसेले प्रतिवेदनले भदौ २३ गतेको आन्दोलनका बारेमा केही उल्लेख गरे पनि भदौ २४ गतेको घटनालाई स्पष्ट रूपमा समेट्न नसकेको बताए । उनका अनुसार उक्त दिनको घटनालाई आयोगले पर्याप्त रूपमा सम्बोधन नगरेको देखिएको छ । जसले प्रतिवेदनलाई अपूर्ण बनाएको हो ।
कांग्रेसले भने प्रतिवेदनको विस्तृत अध्ययन अझै बाँकी रहेको र त्यसपछि मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने स्पष्ट पारेको छ । यसका लागि पार्टीले कानुनविद्, शासन प्रशासनमा अनुभव भएका व्यक्तिहरू तथा जेनजी आन्दोलनमा संलग्न युवा अभियन्ता र विज्ञहरू सम्मिलित एक अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ ।
उक्त समितिले कार्की आयोगको प्रतिवेदनसँगै राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई बुझाएको विवरणहरू समेत गहन रूपमा अध्ययन गर्नेछ । त्यसपछि मात्रै कांग्रेसले आफ्नो अन्तिम धारणा तय गर्ने जनाइएको छ ।
























