ओली पक्राउको विरोधमा एमाले कोशी प्रदेश आन्दोलित, तत्काल रिहाइको माग

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १४, शनिबार ०९:१२

विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ र ‘लोकतन्त्रमाथिको नाङ्गो प्रहार’ को संज्ञा दिँदै कडा आपत्ति जनाएको छ ।

शनिबार कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले  प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो कदमले मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्ने चेतावनी दिए ।

कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको बहानामा गरिएको यो पक्राउ पूर्वाग्रही रहेको उनले बताए ।

विज्ञप्तिमा भनिएको छ, “२०८२ फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित अराजनीतिक दलको सरकारले लोकतान्त्रिक शक्तिहरूमाथि प्रहार सुरु गरेको छ । भाद्र २३ गतेको युवाहरूको शान्तिपूर्ण आन्दोलनलाई नियोजित रूपमा प्रयोग गरी गैरसंवैधानिक बाटोबाट बनेको सरकारले प्रतिशोध साध्ने काम गरेको छ ।”

एमालेले यस कार्यलाई कम्युनिष्ट आन्दोलन र लोकतन्त्र सिध्याउने खेलको रूपमा व्याख्या गरेको छ । विज्ञप्ति मार्फत अध्यक्ष ओलीसहित गिरफ्तार गरिएका अन्य नेताहरूलाई बिनासर्त तत्काल रिहा गर्न माग गरिएको छ ।

सरकारको दमनकारी रवैयाविरुद्ध सशक्त आन्दोलन र संघर्षमा उत्रन एमाले कोशी प्रदेशले आफ्ना सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई आह्वान समेत गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.