
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै बसेको पार्टीको आकस्मिक सचिवालय बैठकले अध्यक्षको तत्काल रिहाइको माग गर्दै आन्दोलनका विभिन्न कार्यक्रमसहित चारवटा महत्त्वपूर्ण निर्णय गरेको छ। शनिबार बिहान बसेको बैठकले सरकारको कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो।
एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेअनुसार बैठकले आम जनसमुदाय र नागरिक समाजसँग मिलेर कानुनी तथा राजनीतिक रूपमा कडा प्रतिवाद गर्ने पहिलो निर्णय गरेको छ। यसैगरी आजै अपराह्न ३ बजे देशका प्रत्येक जिल्ला सदरमुकाममा पार्टीका जनसङ्गठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।
आन्दोलनलाई थप सशक्त बनाउन भोलि चैत १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोध पत्र बुझाउने निर्णय पनि एमालेले गरेको छ। यसका साथै लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायसँग संवाद र सहकार्य गर्दै अघि बढ्ने बैठकको निष्कर्ष छ।
एमालेले आफ्ना अध्यक्षको गिरफ्तारीलाई लोकतान्त्रिक मूल्य–मान्यता विपरीतको कार्य भन्दै यसले देशमा राजनीतिक अस्थिरता निम्त्याउने चेतावनी समेत दिएको छ।
























