
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि त्यसको विरोध गर्दै आन्दोलनमा उत्रिएका एमालेका नेता कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ ।
एमालेको प्रदर्शन शनिबार हिंसात्मक झडपमा परिणत भएको हो । माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि प्रहरीले लाठीचार्ज गरेको हो । प्रहरीको लाठीचार्जबाट एमालेका नेता तथा कार्यकर्ता घाइते भएका छन् । सिंहदरबार आसपासको क्षेत्रलाई उच्च सुरक्षा घेरामा राखिएको छ ।
शनिबार दिउँसो माइतीघर मण्डलामा एमाले निकट कार्यकर्ताहरू भेला भएर सरकारविरुद्ध प्रदर्शन गरिरहेका थिए । सोही क्रममा प्रदर्शनकारीहरूको एउटा समूह अचानक सिंहदरबारको दक्षिण गेटतर्फ अघि बढ्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो ।
निषेधित क्षेत्रतर्फ प्रदर्शनकारीहरू अघि बढेपछि प्रहरीले उनीहरूलाई रोक्न बल प्रयोग गरेको हो । त्यसक्रममा प्रहरीले लाठीचार्ज गर्दा युवराज ओलीसहित केही प्रदर्शनकारी घाइते भएको बताइएको छ ।
घटनास्थलमा रहेका नेताहरूका अनुसार प्रहरीको लाठी प्रहारबाट ओलीको टाउकोमा गम्भीर चोट लागेको छ । अत्यधिक रक्तस्राव भएपछि उनलाई तत्कालै नजिकै रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका लागि लगिएको थियो । अन्य केही कार्यकर्ताहरू पनि सामान्य घाइते भएका छन् । घाइतेहरुको पूर्ण विवरण आइसकेको छैन ।
प्रदर्शन चर्किएसँगै माइतीघर–बानेश्वर–सिंहदरबार क्षेत्र पूर्ण रूपमा तनावग्रस्त बनेको छ । सम्भावित थप झडप र सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै सिंहदरबार आसपास ‘हाइ अलर्ट’ घोषणा गरेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ । केही स्थानमा आवागमनसमेत प्रभावित भएको छ।
राजनीतिक रूपमा संवेदनशील मानिने सिंहदरबार क्षेत्रलाई केन्द्रित गरेर प्रदर्शन हुन थालेपछि सुरक्षा निकाय थप सतर्क बनेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा पनि यही क्षेत्रमा झडप भएको थियो ।
त्यसबेला केपी शर्मा ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री रहेका थिए । अहिले भने उनीहरू पक्राउ परेसँगै एमालेले सडक आन्दोलन रोजेको छ ।
यसैबीच, एमाले सचिव महेश बस्नेतले सरकारको कदमविरुद्ध आन्दोलन अझ सशक्त बनाइने चेतावनी दिएका छन् । सरकारको दमन कायम रहेमा आइतबारबाट देशभर आन्दोलन चर्किने बताए । उनका अनुसार आइतबार आइतबार दिउँसो १२ बजेदेखि देशभरका जिल्ला सदरमुकामहरूमा प्रतिरोधात्मक आन्दोलन सञ्चालन गरिनेछ ।
उनले अध्यक्ष ओलीको पक्राउलाई ‘पूर्वाग्रह र प्रतिशोधपूर्ण कदम’ भन्दै तत्काल रिहाइको माग गरेका छन् । ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो हुन्छ,’ उनले चेतावनी दिँदै भनेका छन्, ‘अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गरियोस् ।’
बस्नेतले वर्तमान सरकारप्रति कडा टिप्पणी गर्दै ‘दुई तिहाइको सरकारले शपथ लिएकै दिनबाट दिनगन्ती सुरु भइसकेको’ दाबी गरेका छन् । साथै, उनले देशलाई अस्थिरतामा धकेल्ने प्रयास भइरहेको आरोप लगाउँदै ‘देशलाई कुन मोडेलतर्फ लैजान खोजिएको हो’ भन्ने प्रश्नसमेत उठाएका छन् ।
उनले विगतमा सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने समूहहरूलाई नियन्त्रण गर्दा त्यसलाई दमन भनिएको प्रसंग उल्लेख गर्दै अहिलेको शान्तिपूर्ण आन्दोलनमाथि बल प्रयोग गरिएको भनेर सरकारको कदमप्रति आपत्ति जनाएका छन् । घाइतेहरूको उचित उपचार र पक्राउ परेकाहरूको अविलम्ब रिहाइको माग पनि उनले गरेका छन् ।
























