
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार, २०८२’ धनकुटाका सक्रिय पत्रकार हरिबहादुर लम्जेललाई प्रदान गर्ने निर्णय गरेको छ ।
पत्रकार महासंघ धनकुटाका सचिव रहेका लम्जेल अन्नपूर्ण पोस्टका धनकुटा समाचारदाता पनि हुन् । महासंघ मोरङ अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा शनिबार बसेको १० औं बैठकले २५ हजार २५ रुपैयाँ राशिको पुरस्कार लम्जेललाई दिने निर्णय गरेको हो ।
पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा यही चैत १६ गते पुरस्कार वितरण गरिने महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बताए । उनका अनुसार पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली रहने छन् ।
त्यसैगरी, महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आगामी वैशाख २० गते (मे ३, २०२६) विराटनगरमा आँखा जाँच शिविर आयोजना गर्ने निर्णय पनि गरेको छ । बैठकले २०८२ सालको सदस्यता नवीकरण चैत मसान्तभित्र अनिवार्य रूपमा गरिसक्न सबै साधारण सदस्यहरूलाई आग्रह गरेको छ ।
























