
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका विषयमा सरकारले चालेको कदमप्रति आपत्ति जनाएको छ ।
पार्टीको केन्द्रीय कार्यालयका तर्फबाट गणेशमान पुनले जारी गरेको विज्ञप्तिमा सरकारले कुनै पनि कदम चाल्दा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मर्म उल्लंघन गर्न नहुने स्पष्ट पारिएको छ । विज्ञप्तिमा राजनीतिक पूर्वाग्रह राख्ने वा द्वन्द्व सिर्जना हुने कुनै पनि कार्य नगर्न सरकारलाई चेतावनीपूर्ण हिसाबले आग्रह गरिएको उल्लेख छ ।
सरकारले निर्णय गर्दा कानुनी प्रक्रिया र निष्पक्षताको मान्यतालाई प्राथमिकतामा राख्नुपर्नेमा नेकपाले जोड दिएको छ । सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाट गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
सो निर्णयपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । नेकपाले विज्ञप्तिमार्फत गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट बहुमत प्राप्त दलका नेता बालेन्द्र शाह प्रधानमन्त्री भएको उल्लेख गर्दै बधाई तथा शुभकामना पनि व्यक्त गरेको छ ।
























