ओली पक्राउको विरोधमा विराटनगरमा एमालेको प्रदर्शन

Share this
631shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १४, शनिबार १९:४८

विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विरोधमा शनिबार कोशी प्रदेशको राजधानी विराटनगरमा एमालेका नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् ।

उनीहरूले सरकारको कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै ओली तथा लेखकको तत्काल र बिना सर्त रिहाइको माग गरेका छन् । विराटनगरको पाँचालीस्थित एमाले पार्टी कार्यालयबाट सुरु भएको विरोध जुलुस नगरका विभिन्न भाग परिक्रमा गर्दै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै राजनीतिक उद्देश्यका आधारमा अध्यक्ष ओलीलाई पक्राउ गरिएको आरोप लगाएका थिए । कोणसभामा बोल्दै एमाले केन्द्रीय सदस्यहरू पर्शुराम बस्नेत र जीवन घिमिरे तथा मोरङ जिल्ला उपाध्यक्ष सागर थापाले सरकारको कदमप्रति कडा आपत्ति जनाए ।

उनीहरूले सरकारले कानुनी प्रक्रियाको नाममा राजनीतिक प्रतिशोध साध्ने प्रयास भएको आरोप लगाए । नेताहरूले सम्बोधनका क्रममा भने, ‘सरकारले कानुनी प्रक्रियाको आवरणमा एमाले सिध्याउने खेल खेलिरहेको छ । यदि हाम्रा अध्यक्षलाई तत्काल रिहा नगरिए देशभर आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेछौँ ।’

प्रदर्शनकारीहरूले पार्टी नेतृत्वमाथि गरिएको भनिएको कारबाहीलाई लोकतान्त्रिक मूल्य मान्यताको उल्लंघन भएको दाबी गर्दै आन्दोलन अझ चर्काउने चेतावनीसमेत दिएका छन् । ओली पक्राउ परेपछि एमालेले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.