एमालेको आन्दोलन जारी : देशभरका प्रशासन कार्यालयमा विरोधपत्र बुझाइँदै

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १५, आइतबार ०७:१३

काठमाडौं । नेकपा (एमाले)ले आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आन्दोलनलाई थप चर्काउने भएको छ ।

एमालेले आज (आइतबार) देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको छ । त्योबाहेक विरोध प्रदर्शन पनि जारी रहने एमालेले जनाएको छ । पार्टीले ओलीको तत्काल रिहाइको माग गर्दै राजनीतिक र कानुनी दुवै मोर्चाबाट दबाब सिर्जना गर्ने रणनीति लिएको छ ।

एमाले केन्द्रीय सदस्य पर्शुराम बस्नेतका अनुसार आइतबार मध्याह्न १२ बजे देशभर प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाइनेछ । विरोध कार्यक्रम औपचारिक घोषणा मात्रै नभएर निर्णायक बनाउने तयारी रहेको उनले बताए । ओलीको पक्राउ ‘गैरकानुनी र पूर्वाग्रही कदम’ भएको बताउँदै बस्नेतले सरकारलाई प्रत्यक्ष सन्देश दिने उद्देश्यले विरोधपत्र बुझाइने जानकारी दिए ।

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई शनिबार बिहान सबेरै नियन्त्रणमा लिइएको थियो । उनीहरूलाई जेनजी आन्दोलनको क्रममा दमन गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ । दुवैलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी छ।

ओली पक्राउलगत्तै बसेको एमाले सचिवालयको आकस्मिक बैठकले तत्काल रिहाइको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । सोही निर्णयअनुसार शनिबार काठमाडौंसहिद देशभर विरोध प्रदर्शन भएको थियो । विशेषगरी माइतीघरदेखि बिजुलीबजार क्षेत्रसम्म दिनभर तनावपूर्ण अवस्था सिर्जना भएको थियो । त्यहाँ एमाले कार्यकर्ता र सुरक्षाकर्मीबीच झडपसमेत भयो ।

एमालेले ओलीको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ । पार्टीले नेताहरुमाथि दमन गरेर राजनीतिक लाभ लिन खोजेको आरोप सरकारलाई लगाएको छ । एमाले नेताहरूले यस घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको आक्रमण भन्दै सडक र संसद दुवै ठाउँबाट सशक्त प्रतिवाद गरिने चेतावनी दिएका छन् ।

यता सरकारका प्रवक्ता सस्मित पोखरेलले भने आरोप अस्वीकार गरेका छन् । उनले कसैसँग प्रतिशोध नराखिएको दाबी गर्दै कानुनअनुसार प्रक्रिया अघि बढाइएको स्पष्ट पारे । उनका अनुसार अनुसन्धानका आधारमा गरिएको कारबाहीलाई राजनीतिक रंग दिन खोजिएको मात्र हो ।

एकातिर एमालेले देशव्यापी विरोध कार्यक्रममार्फत दबाब बढाउने रणनीति अघि सारेको छ भने अर्कोतिर सरकार कानुनी प्रक्रिया अनुसार अघि बढ्ने अडानमा देखिएको छ । यस घटनाले समग्र राजनीतिक वातावरण थप तनावपूर्ण बन्ने संकेत देखिएको छ ।

आगामी दिनमा आन्दोलन अझ चर्किन सक्ने आकलन गरिएको छ । एमालेले आफ्नो आन्दोलनलाई निरन्तरता दिने स्पष्ट संकेत दिइसकेको अवस्थामा सरकार र दलहरुबीचको टकराव अझ तीव्र हुने सम्भावना बढेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.