
धरान । सुनसरीको धरानमा भारतबाट लागुऔषध ल्याई कारोबार गर्दै आएका दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार दिउँसो वडा प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान उपमहानगरपालिका–९ देवकोटा पथमा शंकास्पद रूपमा गुडिरहेको को ३४ प १११४ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा मोटरसाइकल चालक भारत बिहार सुपौलका २३ वर्षीय आदित्य सागरको साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने पदार्थ २.९४ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले प्रारम्भिक सोधपुछ गर्दा पक्राउ परेका आदित्य सागरले थप लागुऔषध आफ्नो साथीसँग रहेको खुलासा गरेका थिए । उनको सूचनाका आधारमा प्रहरीले तत्काल अर्को अपरेशन चलाएको थियो । त्यस क्रममा धरान–१८ बुद्धचोकस्थित कान्तिपुर गेष्ट हाउसमा बसेका अर्का भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीले गेष्ट हाउसको कोठामा बसिरहेका भारतकै बिहार सुपौलका २६ वर्षीय राजकुमार यादवको साथबाट १०.२३ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको थियो । दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ ।
उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरू भारतबाट लागुऔषध लिएर नेपाल आउने र धरान तथा आसपासका क्षेत्रमा बिक्री वितरण गर्ने उद्देश्यले सक्रिय रहेको खुलेको छ ।

























