
काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर विशेष व्यवस्था गर्न आदेश दिएको छ ।
अदालतले उनीहरुमाथि अनुसन्धान गर्न ५ दिनको म्याद दिएको छ । न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आइतबार ५ दिनको म्याद दिँदै उनीहरुको स्वास्थ्य र सुरक्षाको व्यवस्था प्रभावकारी रुपमा मिलाउन आदेश दिएको हो ।
अदालतले ओली अस्वस्थ भई उपचाररत रहेको भन्दै उनको प्रभावकारी उपचारको व्यवस्था मिलाउनसमेत आदेश दिएको छ । पक्राउपछि अस्पताल भर्ना गरिएका ओली भर्चुअल रूपमा इजलासमा उपस्थित भएका थिए भने उनलाई त्रिवि शिक्षण अस्पतालमै राखिने भएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको दमन गरेको घटनामा ओली र लेखक पक्राउ परेका हुन् । जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकसहित उच्च सुरक्षा अधिकारीहरूलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो ।
प्रहरीले बयान, कागजात संकलन र कार्की आयोगको प्रतिवेदन अध्ययनका लागि दुवै जनालाई हिरासतमा राख्नुपर्ने माग गरेको थियो । अदालतले उक्त मागलाई मनासिव ठहर गर्दै प्रारम्भिक मितिदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरेको हो ।
पूर्वगृहमन्त्री लेखकलाई नेपाल प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणमै राखेर अनुसन्धान जारी रहने भएको छ । सुरक्षा र व्यवस्थापनका कारण उनलाई त्यहीँ राख्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
























