कांग्रेस नेता खड्काद्वारा जिल्ला सभापतिहरूको भेला आह्वान

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १६, सोमबार १२:१९

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरूको भेला बोलाएका छन्। १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकको तयारी स्वरूप उनले विशेष महाधिवेशनको पक्षमा नउभिएका जिल्ला सभापतिहरूलाई छलफलका लागि बोलाएका हुन्।

खड्का निकट स्रोतका अनुसार जिल्ला सभापतिहरूको यो भेला आगामी १९ चैतमा गर्ने तय भएको छ। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक समेत डाकेका छन्। उक्त बैठक धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा मंगलबार बिहान ११ बजेदेखि सुरु हुनेछ।

दुई दिनसम्म चल्ने तय भएको यस बैठकमा विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि निमन्त्रणा गरिएको छ। गत पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनमा कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका सभापतिहरू सहभागी भएका थिएनन्। तीमध्ये केही सभापतिहरू प्रतिनिधिसभा निर्वाचनपछि बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा भने सहभागी भएका थिए।

विशेष महाधिवेशन पछिको राजनीतिक घटनाक्रम र पार्टीभित्रको आन्तरिक रणनीतिका विषयमा छलफल गर्न खड्काले यो सक्रियता देखाएका हुन्। यस भेलाले कांग्रेसभित्रको संस्थापन इतर पक्षको आगामी कदमबारे महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.