
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध सुरु भएको आन्दोलन तेस्रो दिन पनि जारी राखेको छ ।
एमालेले सोमबार पनि काठमाडौंमा प्रदर्शन गरेको हो । पार्टीको अगुवाइमा शनिबारदेखि निरन्तर सडकमा प्रदर्शन भइरहेको छ । एमालेले ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको परिणाम भन्दै व्यापक विरोध प्रदर्शन गरिरहेको हो । सोमबारबाट प्रदर्शन गर्न पार्टीकै पदाधिकारी सडकमा निस्किएका छन् ।
पार्टीका शीर्ष पदाधिकारीहरू आन्दोलनको अग्रपंक्तिमा आएर सोमबार माइतीघर मण्डलाबाट सुरु गरिएको प्रदर्शन बबरमहल क्षेत्रसम्म फैलिएको थियो । प्रदर्शनको अगुवाइ एमालेका सचिवहरू भानुभक्त ढकाल, शेरधन राई, राजन भट्टराई र महेश बस्नेत लगायत नेताहरूले गरेका थिए । नेताहरू स्वयं सडकमा उत्रिएपछि कार्यकर्ता तथा समर्थकहरूको सहभागिता पनि उल्लेख्य देखिएको थियो ।
एमालेले अध्यक्ष ओलीको पक्राउलाई गैरकानुनी र पूर्वाग्रहपूर्ण निर्णय भनिरहेको छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदनका आधारमा गत शनिबार ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो । सोही दिनदेखि एमालेले चरणबद्ध विरोध कार्यक्रम सुरु गरेको छ ।
पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पनि प्रहरीले पक्राउ गरेको छ । आन्दोलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव शेरधन राईले सरकारको कदमलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै कडा आलोचना गरे ।
उनले अपूर्ण र पूर्वाग्रहयुक्त प्रतिवेदनको छानबिन नै नगरी गरिएको गिरफ्तारीले लोकतान्त्रिक मूल्यमान्यतामाथि गम्भीर प्रहार गरेको बताए । राईका अनुसार यस्तो कार्यले देशलाई अस्थिरता र टकरावतर्फ धकेल्ने खतरा बढाएको छ ।
उनले सरकारमाथि जनादेशको आडमा अधिनायकवादी प्रवृत्ति देखाएको आरोप समेत लगाए । ‘देशलाई मुठभेडतर्फ धकेल्ने र बाह्य हस्तक्षेप भित्र्याउने प्रयास भइरहेको छ । जसले मुलुकलाई युक्रेनजस्तो संकटतर्फ लैजान सक्छ,’ राईले भने । उनले कार्की आयोगको प्रतिवेदन तत्काल खारेज गरी सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा निष्पक्ष उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
एमालेले अध्यक्ष ओलीको रिहाइ नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेको छ । पार्टीका नेता तथा कार्यकर्ताहरूले सरकारको कदम सच्याउन दबाब दिन निरन्तर सडक संघर्ष गर्ने बताएका छन् । यसैबीच उपत्यका विशेष कमिटीको आयोजनामा भइरहेको प्रदर्शन अझै सशक्त बनाउने तयारी पनि भइरहेको नेताहरुले बताएका छन् ।
सडकमा उत्रिएका पदाधिकारीहरूले आन्दोलनलाई अझ संगठित र प्रभावकारी बनाउने रणनीति अपनाएका छन् । उनीहरूका अनुसार अबका दिनमा विरोध कार्यक्रमलाई देशव्यापी बनाउने र सरकारलाई दबाबमा पार्ने प्रयास भइरहेको छ ।
ओली र लेखकको पक्राउसँगै सुरु भएको आन्दोलनले राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ । उनीहरुको गिरफ्तारीपछि उत्पन्न भएको तनावपूर्ण अवस्था अझै साम्य हुने संकेत देखिएको छैन । एमाले र सत्ता पक्षबीचको दूरी थप बढ्दै गएको छ ।
























