सक्रिय युवा पत्रकार हरिबहादुर लम्जेललाई ‘षष्टिका बस्नेत पुरस्कार’

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १६, सोमबार १७:३७

विराटनगर । धनकुटाका सक्रिय युवा पत्रकार हरिबहादुर लम्जेललाई यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ प्रदान गरिएको छ । लम्जेल सूचना अधिकारको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका पत्रकार हुन् ।

नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाद्वारा सोमबार विराटनगरमा आयोजित कार्यक्रममा लम्जेललाई नगद २५ हजार २५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ । झण्डै डेढ दशकदेखि जिल्ला तहमा बसेर जनचासोका विषयहरू उजागर गर्दै आएका लम्जेल नेपाल पत्रकार महासंघ धनकुटाका सचिव एवं अन्नपूर्ण पोस्टका जिल्ला समाचारदाता हुन् ।

विशेषगरी सूचना अधिकारको प्रयोगमार्फत सार्वजनिक सरोकारका विषयहरूलाई बाहिर ल्याउने काममा उनी सक्रिय छन् । स्थानीय तहदेखि राज्यका विभिन्न निकायसम्म सूचना माग र त्यसको उपयोगमार्फत निरन्तर रूपमा जवाफदेहिताको सवाल उठाउँदै आएका कारण पत्रकार लम्जेललाई यस वर्षको पुरस्कारका लागि छनोट गरिएको पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बताए ।

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले लम्जेललाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको उल्लेख गरे । उनले तथ्यमा आधारित, खोजमूलक र उत्तरदायी पत्रकारिताले मात्र समाजमा विश्वास र पारदर्शिता स्थापित गर्न सक्ने धारणा राखे ।

मन्त्री पराजुलीले प्रदेशको स्थायित्व, सुशासन र समग्र विकास सुनिश्चित गर्नका लागि सशक्त पत्रकारिता आवश्यक रहेको बताए । सूचना अधिकारको प्रभावकारी कार्यान्वयनले सरकारी निकायलाई थप पारदर्शी र उत्तरदायी बनाउन मद्दत गर्ने भएकाले यसको प्रयोगलाई अझ विस्तार गर्नुपर्नेमा उनको जोड छ ।

पुरस्कारका संस्थापक केदारबहादुर बस्नेतले पनि सूचना अधिकारको प्रयोगमार्फत नागरिक सशक्तीकरणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताए । उनले स्थानीय तहदेखि केन्द्रसम्मका सार्वजनिक निकायलाई जिम्मेवार बनाउन खोजमूलक पत्रकारिता अझ बलियो हुनुपर्ने उल्लेख गरे । बस्नेतले सूचना लुकाउने प्रवृत्ति अझै कायम रहेको भन्दै त्यसविरुद्ध पत्रकारहरूले निरन्तर कलम चलाउनुपर्ने आवश्यकता औंल्याए ।

नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले सूचना अधिकारको क्षेत्रमा सक्रिय पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको जानकारी दिइन् । उनले आगामी दिनमा पुरस्कारको दायरा विस्तार गर्दै अझ बढी पत्रकारलाई प्रेरित गर्ने योजना रहेको पनि स्पष्ट पारिन् । ‘सत्य र तथ्यमा आधारित पत्रकारिताले मात्र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ,’ पाठकले भनिन्, ‘त्यसैले पेसागत मर्यादा र उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष यज्ञ शर्मा, महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, अग्रज पत्रकार मोहन भण्डारी, महासंघ मोरङका उपाध्यक्ष सन्तोष सिग्देल, सहसचिव रेवती निरौलालगायतले पनि आफ्नो धारणा राखेका थिए । वक्ताहरुले लोकतन्त्रको संस्थागत विकास, प्रेस स्वतन्त्रताको अवस्था तथा व्यावसायिक पत्रकारितामा देखिएका चुनौतीहरूका बारेमा गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले पछिल्लो समय सूचना पहुँचमा विभिन्न प्रकारका अवरोधहरू देखा परेको, प्रेसमाथि दबाब बढ्दो क्रममा रहेको तथा डिजिटल युगमा सूचना सत्यापन जटिल बन्दै गएको विषयलाई विशेष रूपमा उठाएका थिए । कार्यक्रमका सहभागीहरूले विभिन्न चुनौतीहरूको समाधानका लागि पत्रकारिता क्षेत्र अझ जिम्मेवार र सशक्त बन्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले प्रकाशन गरेको नयाँ वर्ष २०८३ सालको क्यालेन्डर पनि विमोचन गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.