मुलुक निषेध र द्वन्द्वको राजनीतितर्फ उन्मुख भइरहेको मन्त्रीको आशंका

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १६, सोमबार १८:३५

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले पछिल्ला राजनीतिक घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मुलुक फेरि निषेध र द्वन्द्वको राजनीतितर्फ उन्मुख हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

उनले लामो संघर्ष र बलिदानबाट प्राप्त वर्तमान राजनीतिक व्यवस्थालाई जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा महासंघ मोरङ शाखाले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले नेपाली जनताले ठूलो मूल्य चुकाएर ल्याएको परिवर्तनलाई कुनै पनि प्रकारको संकटमा पर्न नदिन सतर्कता आवश्यक रहेको उल्लेख गरे ।

उनले विगतका उपलब्धिहरूलाई सुरक्षित राख्दै मुलुकलाई स्थायित्व र विधिको शासनतर्फ अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘हामीले लामो समयदेखि राजनीतिक परिवर्तनका लागि संघर्ष गरेका छौँ । हजारौँ मानिसको बलिदानबाट आएको यो व्यवस्थामा कुनै खालको संकट नआओस् भन्ने हाम्रो चाहना हो ।’ उनले अहिलेको मुख्य चुनौती भनेको विगतका द्वन्द्वहरूको अन्त्य गर्नु र नयाँ द्वन्द्वहरू सिर्जना हुन नदिनु भएको स्पष्ट पारे ।

मन्त्री पराजुलीका अनुसार पछिल्ला केही घटनाक्रमहरूले मुलुक सही दिशातर्फ अघि बढिरहेको छ कि छैन भन्नेमा संशय उत्पन्न गराएको छ । ‘फेरि मुलुकमा निषेधको राजनीति र द्वन्द्वको राजनीति सुरु हुन लागेको हो कि भन्ने आशंका पैदा भएको छ,’ उनले भने, ‘यस्तो अवस्था आउन नदिन सबै पक्ष सचेत हुनुपर्छ ।’

उनले हालै गठन भएको सरकारप्रति जनताको अपेक्षा उच्च रहेको उल्लेख गर्दै लोकतन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीलाई संस्थागत गर्ने दिशामा सरकार अग्रसर हुनुपर्ने बताए । दुईतिहाइ नजिकको जनादेश प्राप्त सरकारले जनताको अधिकार सुदृढ गर्ने, कानुनी संरचना बलियो बनाउने र समृद्धिको आधार तयार गर्ने जिम्मेवारी बोकेको उनको भनाइ थियो ।

तर, सरकारका पछिल्ला गतिविधिहरूले राजनीतिक प्रतिस्पर्धा स्वस्थ दिशाबाट हटेर निषेध र प्रतिशोधतर्फ जान सक्ने संकेत गरेको मन्त्री पराजुलीको भनाइ छ । उनले यस्तो प्रवृत्ति रोक्न संघीय सरकार स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

‘कानुन सबैका लागि समान हुनुपर्छ । कसैलाई आग्रह–पूर्वाग्रहका आधारमा कारबाही गर्ने नभएर विधि र प्रणालीका आधारमा राज्य सञ्चालन हुनुपर्छ,’ उनले भने, ‘संस्थागत विकास र पद्धतिको निर्माणबाट मात्रै द्वन्द्व अन्त्य गर्न सकिन्छ ।’ मन्त्री पराजुलीले विधिको शासन सुदृढ गर्न सरकारलाई आह्वान गर्दै पारदर्शिता, निष्पक्षता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले लोकतान्त्रिक उपलब्धिहरूलाई जोगाउन र देशलाई सही दिशातर्फ अघि बढाउन सबै राजनीतिक शक्ति, राज्य संयन्त्र, नागरिक समाज र सञ्चार क्षेत्रको साझा भूमिका आवश्यक रहेको उल्लेख गरे । उनले मुलुकलाई पुनः द्वन्द्वतर्फ जान नदिन सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गर्दै शान्ति, स्थायित्व र समृद्धिको दिशामा अघि बढ्न सबैलाई आग्रह गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.