अहिंसाको सन्देशसहित महावीर जयन्ती मनाइँदै

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १७, मंगलबार ०६:०७

काठमाडौं । जैन धर्मका प्रवर्तक महावीर जैनको २६२५औँ जन्मजयन्ती आज (मंगलबार) नेपालभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।

सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यजस्ता जीवन दर्शनलाई मानव समाजमा स्थापित गर्न योगदान दिएका महावीरप्रति श्रद्धा व्यक्त गर्दै धार्मिक तथा सामाजिक संस्थाहरूले विशेष कार्यक्रम आयोजना गर्ने गर्छन् । इसापूर्व ५९९ मा भारतको वैशाली नजिकै रहेको कुण्डलग्राममा राजा सिद्धार्थ र रानी त्रिशूलाका पुत्रका रूपमा जन्मिएका महावीर राजसी जीवन त्यागेर आध्यात्मिक यात्रामा लागेका थिए ।

शान्ति र सत्यको खोजीमा उनी करिब १२ वर्षसम्म कठोर तपस्यामा लीन भएका थिए । तपस्यापछि उनले मानव समुदायलाई जैन दर्शनको मार्ग देखाएका थिए । जैन मान्यताअनुसार २४ तीर्थङ्करमध्ये महावीर अन्तिम तीर्थङ्कर हुन् । जसले धर्मको सही बाटो देखाउने कार्य गरेका थिए ।

उनका उपदेशहरूमा अहिंसालाई केन्द्रमा राखिएको छ । अरूलाई दुःख दिनु पनि हिंसा मानिने भएकाले उपकार गर्नु नै साँचो अहिंसा हुने उनको विचार रहेको पाइन्छ ।

महावीरका शिक्षाहरू अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छन् । लोभ, हिंसा र असमानताले ग्रस्त आधुनिक समाजमा उनका सन्देशहरूले नैतिकता र सहअस्तित्वको मार्ग देखाउने विश्वास गरिन्छ ।

जन्मजयन्तीको अवसरमा नेपाल जैन परिषद्सहित विभिन्न संघ संस्थाले प्रवचन, र्‍याली तथा धार्मिक कार्यक्रममार्फत महावीरका शिक्षाहरूको प्रचारप्रसार गर्ने गर्छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.