लेखक राजनीतिक प्रतिशोधको सिकार हुँदा कांग्रेसमा किचलो

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १७, मंगलबार ०६:४२

काठमाडौं । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ प्रकरणले नेपाली राजनीतिक वृत्तलाई मात्रै तरंगित बनाएको छैन । यसले कांग्रेसभित्र गहिरिँदै गएको आन्तरिक द्वन्द्वलाई सतहमा ल्याइदिएको छ ।

एउटै घटनालाई लिएर पार्टीका दुई धारले फरकफरक धारणा सार्वजनिक गरेपछि कांग्रेस औपचारिक रूपमा विभाजनको दिशातर्फ अघि बढिरहेको संकेत मिलेको छ । सरकारले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेपछि मुलुकको राजनीति तातिएको छ ।

वर्तमान सरकारले दुवै जनालाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा पक्राउ गरेको विषय कतै लुकेको छैन । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन गरिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले गरेको सिफारिसका आधारमा ओली र लेखकलाई पक्राउ गरिएको प्रतिक्रिया सरकारले दिने गरेको छ ।

तर, कार्की आयोगको प्रतिवेदन आफैंमा अपूर्ण, पूर्वाग्राहले प्रेरित र प्रतिशोधपूर्ण रहेको विश्लेषकहरु बताउँछन् । त्यही प्रतिशोधपूर्ण सिफारिसका आधारमा ओली र लेखकलाई पक्राउ गरिएपछि नेपाली राजनीति तरंगित भएको छ । पक्राउपछि एमाले आन्दोलित छ । तर, कांग्रेस भने विभाजित बन्यो ।

कांग्रेसमा पक्राउको विषयलाई लिएर दुई धार प्रष्ट देख्न सकिन्छ । कांग्रेसभित्र देखिएको प्रतिक्रिया अझै बढी चासोको विषय बनेको हो । किनभने सरकारविरुद्ध वा पक्षमा उभिने प्रश्न मात्रै नभएर पार्टीभित्रै नेतृत्व र वैधताको संघर्ष खुलेआम प्रकट भएको छ ।

घटनापछि कांग्रेसका दुई समूह (विशेष महाधिवेशनबाट आएको नेतृत्व पक्ष र पुरानो संस्थापन समूह)ले आआफ्नै तरिकाले प्रतिक्रिया दिएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्व पक्ष कानुनी प्रक्रिया, पारदर्शिता र निष्पक्ष अनुसन्धानको पक्षमा टिप्पणी गर्दै सामान्य प्रतिक्रिया दिएर घटनाबाट पन्छिएको छ ।

पार्टी सभापति गगन पक्षधरले भदौ २३ र २४ का घटनामा संलग्न जोकोहीमाथि पनि विधिसम्मत कारबाही हुनुपर्ने अडान लिएको छ । अर्कोतर्फ पुरानो संस्थापन समूहले यसलाई स्पष्ट रूपमा ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिएको छ । कार्यवाहक सभापतिको दाबी गर्दै पूर्णबहादुर खड्काले निकालेको विज्ञप्तिमा सरकारको कदम संविधान र कानुनविपरीत रहेको उल्लेख गर्दै पक्राउ परेकाहरूको तत्काल रिहाइको माग गरिएको छ ।

एउटै पार्टीभित्रबाट आएका यी दुई फरक सन्देशहरूले कांग्रेसको आन्तरिक अवस्था कति जटिल बनेको छ भन्ने प्रस्ट देखाउँछ । यसले कांग्रेसको किचलोलाई स्पष्टसँग बाहिर ल्याएको छ ।

यो विवाद अचानक उत्पन्न भएको होइन । यसको जरा गत पुस अन्त्यतिर गाडिएको थियो । जब गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरले विशेष महाधिवेशन आह्वान गरे । त्यसपछि पार्टीभित्र दुई शक्ति केन्द्र स्पष्ट रूपमा देखिन थाले । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई आधिकारिकता दिएपछि पुरानो समूह असन्तुष्ट बनेको थियो ।

त्यसबीचमा प्रतिनिधिसभा निर्वाचनले केही समयका लागि विवादलाई थामेको जस्तो देखिए पनि परिणाम सार्वजनिक भएपछि फेरि तनाव चुलिएको छ । अपेक्षाभन्दा कमजोर प्रदर्शन गर्दै कांग्रेस संसदमा खुम्चिएपछि दोषारोपणको राजनीति सुरु भयो । एक पक्षले विशेष महाधिवेशनलाई जनताले अस्वीकार गरेको दाबी गरिरहेको छ भने अर्को पक्षले पुरानो नेतृत्वकै कारण पार्टीले अपेक्षित समर्थन पाउन नसकेको आरोप लगाइरहेको छ ।

यही पृष्ठभूमिमा लेखक र ओली पक्राउ प्रकरण आयो । जसले कांग्रेसको आन्तरिक विवादलाई झन् सतहमा ल्यायो । अब स्थिति यस्तो बनेको छ कि, दुवै समूह समानान्तर गतिविधिमा उत्रिएका छन् । एकातर्फ विशेष महाधिवेशन पक्षधरले पार्टीको आधिकारिक संरचना प्रयोग गर्दै बैठक, निर्णय र अनुशासनका प्रक्रिया अघि बढाइरहेको छ भने अर्कोतर्फ देउवा–कोइराला समूहले पनि छुट्टै बैठक, भेला र निर्देशनमार्फत आफ्नै शक्ति प्रदर्शन गरिरहेको छ ।

देउवा–कोइराला समूहले सांसदहरूको छुट्टै भेला आयोजना गर्दै उनीहरूलाई निर्देशन दिएको छ । उक्त भेलामा सहभागी सांसदहरूलाई पार्टीको मूल विचार, राष्ट्रियता र संविधानप्रति प्रतिबद्ध रहन आग्रह गरिएको थियो ।

त्यसैगरी, उक्त समूहले १४औँ महाधिवेशनबाट निर्वाचित संरचनाको आधारमा केन्द्रीय समितिको बैठकसमेत आह्वान गरेको छ । देउवा–कोइराला पक्षधले जिल्ला सभापतिहरूको भेला बोलाएर संगठन विस्तार र शक्ति सन्तुलन कायम राख्ने रणनीति अपनाएको छ ।

पूर्वसभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइराला समूह गगन पक्षधरको निरन्तर उपेक्षामा परेकाले अब समानान्तर रूपमा अघि बढ्न बाध्य बनेको दाबी गर्छ । यता विशेष महाधिवेशन पक्षधर भने अर्को समूहका गतिविधिलाई अनुशासनहीनता मान्दै त्यसविरुद्ध कारबाहीको तयारीमा जुटेको छ ।

त्यसका लागि केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ । जसले सम्भवतः समानान्तर गतिविधिमा संलग्न नेतामाथि कारबाहीको निर्णय गर्न सक्छ । प्रवक्ता देवराज चालिसेले पार्टीभित्र सबैले विधान र अनुशासन पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस अब आन्तरिक विवादको चरणमा सीमित नभएको छनक मिलिरहेको छ । बरु संस्थागत विभाजनतर्फ उन्मुख भइरहेको संकेत मिल्छ । समानान्तर संरचना, फरकफरक निर्णय र छुट्टै राजनीतिक लाइनले पार्टीलाई व्यवहारतः दुई भागमा विभाजित गरिसकेको जस्तो देखिन्छ ।

यसबीचमा बालेन शाह (बालेन्द्र) नेतृत्वको सरकारको कदमले समग्र राजनीतिक समीकरणलाई थप जटिल बनाएको छ । सरकारको निर्णयलाई लिएर अरु दल पनि विभाजित देखिएका छन् । कसैले सरकारको समर्थन गरेका छन् भने कसैले प्रतिशोधको राजनीति भन्दै आलोचना गरेका छन् । तर, कांग्रेसको हकमा भने यो मुद्दा सरकारको समर्थन वा विरोधभन्दा पर पुगेर अस्तित्व र नेतृत्वको प्रश्नमा रूपान्तरित भएको छ ।

बालेन प्रधानमन्त्री नियुक्त भएको १२ घण्टा पनि बित्न नपाउँदै ओली र लेखक पक्राउ परेपछि त्यसले सरकारको भूमिका र गतिविधिमा प्रश्न उठाएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यदि यही अवस्था जारी रह्यो भने कांग्रेस औपचारिक रूपमा विभाजनतर्फ जान सक्ने सम्भावना बलियो बन्दै गएको छ । सर्वोच्च अदालतबाट आधिकारिकता सम्बन्धी विवाद टुंगो नलागेसम्म यो संघर्ष अझै तीव्र हुने देखिन्छ ।

लेखक पक्राउ प्रकरणले एउटा कानुनी वा राजनीतिक मुद्दा मात्रै नभएर कांग्रेसभित्र वर्षौंदेखि थामिँदै आएको शक्ति संघर्षलाई विस्फोटक अवस्थामा पुर्‍याएको छ । अब कांग्रेसले आन्तरिक एकता कायम राख्न सक्छ वा पार्टी औपचारिक विभाजनतर्फ जान्छ भन्ने चासोको विषय बनेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.