
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अहिले उत्कर्षमा पुगेको छ। गत पुसमा संस्थापन पक्षको सहमतिबिना सम्पन्न विशेष महाधिवेशनपछि सुरु भएको यो किचलोले अहिले ‘दुई सभापति र दुई कार्यसमिति’को समानान्तर सत्ताको रूप लिएको हो।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई आधिकारिकता दिए पनि शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले त्यसलाई स्वीकार नगरी आफ्नै गतिविधि तीव्र पारेका छन्।
विवादको आगोमा घिउ थप्ने काम गत शनिबार नेता रमेश लेखकको गिरफ्तारीले गरेको छ। जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका देउवा निकट नेता लेखक पक्राउ परेपछि पार्टीका दुवै पक्षबीचको दूरी ह्वात्तै बढेको हो।
लेखक पक्राउको विरोधमा संस्थापन पक्ष नरम देखिएको भन्दै देउवा–कोइराला समूहले ‘कार्यवाहक सभापति’का रूपमा पूर्णबहादुर खड्काको हस्ताक्षरमा विज्ञप्ति जारी गरेपछि कांग्रेसभित्र दुईवटा शक्ति केन्द्र प्रष्ट देखिएका छन्।
गगन थापालाई निर्वाचन आयोगले सभापति माने पनि खड्काले पार्टीको लेटरप्याड प्रयोग गर्दै समानान्तर विज्ञप्ति निकाल्नुलाई संस्थापनले विधान विपरीतको कार्य भनेको छ।
यता देउवा–कोइराला समूहले भने सोमबार महाराजगञ्जस्थित होटल स्मार्टमा निर्वाचित सांसदहरूलाई बधाई दिँदै आफ्नो शक्ति प्रदर्शन गरेको छ। सो कार्यक्रममा प्रतिनिधिसभाका ११ र राष्ट्रियसभाका सबै निर्वाचित सांसदहरूको उपस्थिति हुनुले पार्टीभित्रको समीकरण रोचक मोडमा पुगेको संकेत गर्छ।
मंगलबार बिहान ११ बजे देउवा–कोइराला समूहले सोही होटलमा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ भने चैत १९ मा जिल्ला सभापतिहरूको भेला डाकेको छ।
अर्कोतर्फ, सानेपास्थित केन्द्रीय कार्यालयले भने समानान्तर गतिविधि गर्नेहरूलाई कारबाही गर्ने तयारी गरेको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले चैत १५ गते नै अनुशासन समितिको बैठक आह्वान गरिसकेका छन्।
पार्टीभित्रको यो ‘जुँगाको लडाइँ’ले कांग्रेसलाई वैधानिक रूपमै फुटको सँघारमा पुर्याएको छ। एकातिर सर्वोच्च अदालतमा विशेष महाधिवेशनविरुद्धको मुद्दा विचाराधीन छ भने अर्कोतिर दुवै पक्ष आ–आफ्नो अस्तित्व जोगाउन अन्तिम लडाइँको मनस्थितिमा देखिएका छन्।
खड्काले कार्यकर्तालाई ‘जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन’ दिएको निर्देशनले कांग्रेसभित्रको यो किचलो तत्काल साम्य हुने देखिँदैन।
























