
काठमाडौं । कास्कीको लिची बगान घुस प्रकरणमा मुछिएका पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा तोकिएको पेसी पूर्वमन्त्री गुप्ताका कानुन व्यवसायीको निवेदनका कारण रोकिएको हो।
विशेष अदालतले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी त्यस विरुद्ध सर्वोच्च पुगेका थिए। सोही प्रकरणमा मुछिएका पूर्वमन्त्री रञ्जिता श्रेष्ठ र तत्कालीन मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीलाई भने विशेष अदालतले पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको थियो।
उक्त धरौटीको आदेश बदर गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सर्वोच्चमा निवेदन दिएको छ। यी सबै मुद्दालाई लगाउमा राखेर सुनुवाइ गर्ने तयारी भइरहेको छ।
यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टसहितको इजलासले गुप्तालाई थुनामा पठाउन आदेश दिएको थियो। पोखराको मालपोत कार्यालयका प्रमुखको सरुवा रोकिदिने र भूमि आयोगमा नियुक्ति मिलाइदिने प्रलोभन देखाई ५३ लाख रुपियाँ घुस लिएको अभियोग उनीमाथि छ।
अख्तियारले मन्त्री गुप्ता र रञ्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गरी २५ लाख रुपियाँ घुस लिएको दाबी गर्दै मुद्दा दायर गरेको थियो। गुप्ताले भने आफू निर्दोष रहेको र कसैसँग घुस नलिएको बयान दिएका थिए। तर अदालतले उपलब्ध प्रमाणका आधारमा उनलाई तत्काल निर्दोष मान्न नसकिने ठहर गरेको छ।

























