
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्र फरक मत र असहमति हुनु स्वाभाविक भए पनि त्यसलाई मर्यादित संवादको परिधिभित्र राख्नुपर्ने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टीभित्रको असहमति आत्मकेन्द्रित र समानान्तर गतिविधिमा परिणत भएमा त्यसले संगठनलाई हित नगर्ने स्पष्ट पारे ।
पछिल्लो समय सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले छुट्टाछुट्टै भेला गरेको सन्दर्भलाई लक्षित गर्दै प्रवक्ता चालिसेले यस्तो टिप्पणी गरेका हुन् ।
महाधिवेशन नजिकिँदै गरेको अवस्थामा आफ्ना स्पष्ट योजना, ठोस तर्क र सकारात्मक ऊर्जासहित कार्यकर्ताको मन जित्न लाग्नु नै सबैका लागि उपयुक्त हुने उनले उल्लेख गरे ।
नेतृत्वमा पुग्ने बाटो विधानअनुसार नै खुला रहेको स्मरण गराउँदै प्रवक्ता चालिसेले पार्टीको अनुशासन सबैले पालना गर्नुपर्नेमा जोड दिए ।
उनले आज गरिने राजनीतिक कर्मले भोलि आफैँलाई लज्जित नपार्ने गरी अघि बढ्न समेत नेता तथा कार्यकर्तालाई आग्रह गरे । विधानसम्मत प्रक्रियाभन्दा बाहिर गएर गरिने गतिविधिले पार्टीको आन्तरिक एकतामा खलल पुर्याउने उनको तर्क छ ।
























