
विराटनगर । लागु पदार्थ सेवन (लापसे) गरेर सवारीसाधन चलाउने ११ जनालाई प्रहरीले मंगलबार दिउँसो विराटनगरमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा सीटी सफारी चालक मात्रै १० जना छन् ।
विराटनगर महानगरपालिका–१५ हुलास चोकस्थित सामुदायिक प्रहरी सेवा केन्द्रको भवनमा नेपाल र ट्राफिक प्रहरीले संयुक्त रूपमा चेकजाँच गर्दा चालकहरुले लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने गरेको पाइएको हो । सडक सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक अनुशासन सुदृढ गर्नका लागि प्रहरी सक्रियता बढाउँदा ११ जना चालकले लापसे गरेर सवारीसाधन चलाएको फेला परेको हो ।
पक्राउ पर्नेहरूमा विराटनगर–१७ का सारुड मियाँ, १६ का अमृत कामत, १५ का सुनील थापा, १३ का शंकर महतो, १० का मोहमद इन्तियाज, ८ का प्रमोद पासवान, राजेश राम, ६ का शिवम साह, सुरज पासवान, मोरको कटहरी गाउँपालिका–२ का सुरेश मण्डल र सुनसरीको इटहरी उपमहानगरपालिका–९ का मञ्जिल लिम्बू रहेका छन् । पक्राउ परेकामध्ये मञ्जिल लिम्बू मोटरसाइकल चालक हुन् । अरु सबै सीटी सफारी चालक रहेको प्रहरीले जनाएको छ ।
लापसे चेकजाँचका लागि कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका सूचना अधिकारी डीएसपी सन्तोष श्रेष्ठ, मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपाने, इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राईलगायतका प्रहरी अधिकृतहरु खटिएका थिए । संयुक्त टोलीको सघन चेकिङका क्रममा १० जना सीटी सफारी र एक जना मोटरसाइकल चालक पक्राउ परेका हुन् ।
‘धेरै जना चालकहरुको लापसे परीक्षण गरियो । तीमध्ये ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो,’ ट्राफिकका इन्स्पेक्टर न्यौपानेले भने । उनका अनुसार प्रारम्भिक परीक्षणमै ‘पोजिटिभ’ देखिएपछि सबै चालकहरूलाई सवारीसाधनसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानी लगेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
सीटी सफारीजस्ता यात्रुवाहक एवं सार्वजनिक सवारीसाधन चलाउने चालकहरूमा लागु पदार्थ सेवनको प्रवृत्ति बढ्दै गएको सूचना पाएपछि ट्राफिक प्रहरीले कोशी प्रदेशमा चेकजाँच अभियान चलाएको छ । एसपी गिरी चालकले लापसे र मापसे (मादक पदार्थ सेवन) गरेर सवारीसाधन चलाउँदा यात्रुको ज्यान जोखिममा पर्ने बताउँछन् ।
‘लागु पदार्थको नशामा सवारीसाधन चलाउँदा दुर्घटनाको सम्भावना अत्यधिक हुन्छ । यात्रुको जीवन जोखिममा पर्छ । त्यही भएर नियन्त्रणका लागि कठोर कदम चालिएको हो,’ उनले भने । एसपी गिरीका अनुसार विशेषगरी सीटी सफारीका चालकहरुले लापसे धेरै गर्ने गरेको पाइएको छ ।
पक्राउ परेकाहरुलाई लागुऔषध सम्बन्धी कानुन अनुसार कारबाही अघि बढाउने प्रहरीको तयारी छ । उनीहरूको स्वास्थ्य परीक्षणलगायतका आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै विस्तृत अनुसन्धानपछि मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।
एसपी गिरीका अनुसार सवारी चालकहरूमा चेतना अभिवृद्धि गर्न मद्धत पुग्ने यस अभियानलाई निरन्तरता दिइने छ । पछिल्लो समय सडक दुर्घटनामा चालकको लापरबाही, मादक पदार्थ तथा लागू पदार्थ सेवन प्रमुख कारणको रूपमा देखिँदै आएकाले चेकिङ अभियानलाई प्रभावकारी बनाइएको उनले बताए ।
‘यो अभियानले चालकहरुलाई जिम्मेवार र सचेत भएर सवारीसाधन चलाउन अभिप्रेरित गर्छ । अभियानलाई निरन्तरता दिएर नियम उल्लंघन गर्ने चालकहरूलाई कारबाहीको दायरामा ल्याइने छ,’ एसपी गिरी भन्छन् । सडक सुरक्षा, ट्राफिक अनुशासन एवं दुर्घटना न्यूनीकरण साझा जिम्मेवारी भएकाले प्रहरीको अभियानमा सहयोग गर्न उनले सबैमा आग्रह गरेका छन् ।



















