निर्वाचन समीक्षा र भावी रणनीति तय गर्न कांग्रेसले खटायो ७ प्रदेशमा प्रतिनिधि 

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १७, मंगलबार १९:२९

काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा तथा पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्न ७ प्रदेशमा केन्द्रीय प्रतिनिधि तोकेको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको गत चैत १० र ११ गते सम्पन्न बैठकको निर्णयअनुसार महामन्त्री प्रदीप पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिहरूको नाम र कार्यक्रमको तालिका सार्वजनिक गरेका हुन् ।

कांग्रेसले ७ प्रदेशका १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग प्रत्यक्ष छलफल गर्ने तयारी गरेको छ । विज्ञप्तिअनुसार समग्र निर्वाचन परिणाम, चुनावी अनुभव र पार्टीको आगामी बाटोबारे समीक्षा गर्न यो कार्यक्रम आयोजना गरिएको हो । केन्द्रीय प्रतिनिधिको उपस्थितिमा प्रत्येक क्षेत्रको स्थलगत अध्ययन र विश्लेषण समेत गरिने जनाइएको छ ।

सम्बन्धित प्रदेशमा तोकिएका संयोजकको समन्वयमा हुने यस कार्यक्रममा केन्द्रीय कार्यसमितिका सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभाका क्षेत्रीय सभापति सहभागी हुनेछन् ।

यस्तै, प्रदेशसभा सदस्यहरू तथा प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको पनि सहभागिता रहने महामन्त्री पौडेलले जानकारी दिए । कार्यक्रमको व्यवस्थापन भने सम्बन्धित जिल्ला कार्यसमितिले गर्ने छ ।

कार्यक्रमको तालिका अनुसार यही चैत २३ गते कोशी प्रदेशको विराटनगरमा हुने कार्यक्रमका लागि डा. डिला संग्रौला पन्त, चैत २५ गते मधेस प्रदेशको जनकपुरमा हुने कार्यक्रमका लागि फरमुल्लाह मन्सुरलाई प्रतिनिधि तोकिएको छ। यसैगरी, बागमती प्रदेशको हेटौँडामा आगामी वैशाख ७ गते हुने कार्यक्रमका लागि बहादुरसिंह लामा, गण्डकी प्रदेशको पोखरामा यही चैत २७ गतेको कार्यक्रमका लागि देवराज चालिसे, लुम्बिनी प्रदेशको दाङमा  चैत २९ गतेको कार्यक्रमका लागि योगेन्द्र चौधरीलाई प्रतिनिधि तोकिएको छ ।

यस्तै, कर्णाली प्रदेशको सुर्खेतमा आगामी वैशाख ३ गते हुने कार्यक्रमका लागि कर्णबहादुर बुढा र सुदूरपश्चिम प्रदेशको कैलालीमा वैशाख ५ गतेको कार्यक्रमका लागि प्रकाश रसाइली स्नेहीलाई प्रतिनिधि तोकिएको विज्ञप्तिमा जनाइएको छ ।

कांग्रेसले यस अभियानमार्फत निर्वाचन परिणामको गहिरो विश्लेषण गर्दै पार्टी सुदृढीकरण, संगठन विस्तार र आगामी राजनीतिक रणनीति तय गर्ने लक्ष्य राखेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.