खड्काको नेतृत्वमा कांग्रेसको छलफल : पार्टी एकता र आन्तरिक विवाद व्यवस्थापनमा जोड

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १७, मंगलबार १९:४५

काठमाडौं । काठमाडौंमा मंगलबार नेपाली कांग्रेसका १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको बैठक बसेको छ ।

नेता पूर्णबहादुर खड्काको नेतृत्वमा भएको उक्त भेलामा पार्टीभित्र देखिएको आन्तरिक विवाद, संगठनात्मक अवस्था र आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल भएको सहभागीहरूले बताएका छन् । बैठकमा नेताहरूले विशेष महाधिवेशनपछि विकसित राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पार्टीभित्रको आन्तरिक संघर्षलाई व्यवस्थित ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।

वर्तमान नेतृत्वले पार्टीका आन्तरिक विषयलाई संवेदनशील र समन्वयात्मक ढंगले सम्बोधन गर्न नसकेको कारण विवाद थप जटिल बन्दै नेताहरुले बताएका छन् । केही नेताहरूले विशेष महाधिवेशनबाट बनेको नेतृत्वले पार्टीको संरचना र निर्णय प्रक्रियामा बलजबरजस्ती गर्न खोजेको आरोपसमेत लगाएका छन् ।

उनीहरूले पार्टीको वैधानिकता र परम्परालाई बेवास्ता गरिएको भन्दै यसले संगठनभित्र थप विभाजनको खतरा बढाएको दाबी गरे । छलफलका क्रममा नेता मानबहादुर नेपालीले पार्टी नेतृत्वको विवाद अहिले अदालतमा विचाराधीन अवस्थामा रहेकाले कुनै पनि पक्षले एकतर्फी निर्णय गरेर अघि बढ्न नहुने बताए ।

उनले मुलुकमा लोकतान्त्रिक प्रणाली नै कमजोर भइरहेका बेला पार्टीभित्र सबै पक्ष संयमित र जिम्मेवार बन्नुपर्ने आवश्यकता रहेको धारणा राखे । उनका अनुसार १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति नै अहिलेको वैधानिक संरचना भएको दाबी गर्दै त्यसलाई नै आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।

नेपालीले विवादलाई संस्थागत ढंगले समाधान गर्न नसके पार्टीको संगठनात्मक शक्ति कमजोर हुने चेतावनी पनि दिए । बैठकमा केही नेताहरूले भने विवादलाई थप बढाउनुको सट्टा पार्टीलाई एकताबद्ध बनाउँदै अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

उनीहरूले समानान्तर गतिविधि नभएर संवाद र सहमतिको माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । नेताहरूका अनुसार छलफल अझै पूर्ण रूपमा निष्कर्षमा नपुगेकोले बैठक बुधबार पनि चल्ने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.