
काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रेखा शर्मालाई रिहाइ गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएको छ ।
खड्काको तर्फबाट उनकी श्रीमती बिनिता खड्का र शर्माको तर्फबाट चिन्तामणि शर्माले रिट निवेदन दायर गरेका हुन् । दुवै निवेदनमार्फत उनीहरूलाई प्रहरी हिरासतमा राखिएको प्रक्रिया गैरकानुनी भएको दाबी गर्दै तत्काल रिहाइको माग गरिएको छ ।
पूर्वमन्त्री खड्का हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् । उनीमाथि आर्थिक कारोबार र स्रोत नखुलेको सम्पत्तिसम्बन्धी अनुसन्धान भइरहेको बताइएको छ ।
यस्तै, प्रदेशसभा सदस्य शर्मा बालिकामाथि हिंसासम्बन्धी अभियोगमा पक्राउ परेकी हुन् । रिट निवेदनमा पक्राउ प्रक्रिया संविधान र कानुनी मापदण्डअनुसार नभएको दाबी गर्दै हिरासत बसाइलाई गैरकानुनी ठहर गर्न माग गरिएको छ ।
सर्वोच्च अदालतले रिट दर्ता गरी प्रारम्भिक सुनुवाइको तयारी गरेको छ । अब सर्वोच्चको प्रारम्भिक आदेशपछि मात्र उनीहरूको हिरासत वैधता र सम्भावित रिहाइका बारेमा थप स्पष्टता आउने छ ।
























