माओवादी जनयुद्धका रणनीतिकार बादल अब एमाले संसदीय दलको नेतृत्वमा

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १८, बुधबार १७:०६

काठमाडौं । रामबहादुर थापा ‘बादल’ नेकपा (एमाले)को संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचन प्रक्रियामा उनको एकल उम्मेदवारी कायम भएपछि उनी सर्वसम्मत रूपमा दलको नेता बनेका हुन् ।

दलको नेताका लागि सुरुमा इलाम–२ बाट निर्वाचित युवा सांसद सुहाङ नेम्वाङले पनि दाबी प्रस्तुत गरेका थिए । तर, अन्तिम समयमा मनोनयन दर्ता गर्ने क्रममा आवश्यक प्रस्तावक र समर्थक नपाएपछि उनले उम्मेदवारी अघि बढाउन सकेनन् ।

त्यससँगै बादल निर्विरोध चयन भएका हुन् । निर्वाचनपछि नेम्वाङले बादललाई खादा ओढाएर बधाई दिँदै पार्टीभित्र सहमतिको सन्देश दिएका थिए ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिक गरी सीमित सिट जितेको अवस्थामा संसदीय दलको नेतृत्व झन् महत्वपूर्ण बनेको छ । विशेषगरी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू प्रत्यक्ष निर्वाचनमा पराजित भएपछि दलभित्र नेतृत्वको नयाँ समीकरण बनेको हो ।

यसै सन्दर्भमा समानुपातिक सूचीबाट संसद् प्रवेश गरेका बादलले संसदीय दलको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् । विक्रम संवत २०१२ साल वैशाख १९ गते गुल्मीमा जन्मिएका बादलको राजनीतिक यात्रा लामो र उतारचढावपूर्ण रहँदै आएको छ ।

२०३१ सालदेखि वामपन्थी आन्दोलनमा सक्रिय भएका उनी विद्यार्थी जीवनमै कम्युनिस्ट राजनीतिमा होमिएका थिए । चितवनको रामपुर कृषि क्याम्पसमा अध्ययनका क्रममा उनको भेट पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएपछि उनी माओवादी आन्दोलनतर्फ आकर्षित भएका थिए ।

२०५२ सालमा तत्कालीन नेकपा (माओवादीं)ले सशस्त्र जनयुद्ध सुरु गर्दा बादल प्रमुख सैन्य योजनाकारका रूपमा परिचित भए । जनयुद्ध अवधिभर उनी भूमिगत जीवनमै सक्रिय रहे र संगठन विस्तारदेखि रणनीतिक निर्णयसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

लामो समय भूमिगत राजनीतिमा बिताएका उनी २०६२–०६३ को जनआन्दोलन र त्यसपछिको शान्ति प्रक्रियापछि खुला राजनीतिमा आए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका बादल २०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा रक्षामन्त्री बने ।

त्यसपछि २०७५ सालमा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेकपा (नेपाल कम्युनिष्ट पार्टी)मा उनी सचिवालय सदस्य बनेका थिए । पछि पार्टी विभाजन हुँदा उनले एमाले रोजेका थिए ।

२०७८ सालमा चितवनको सौराहामा सम्पन्न एमालेको १०औँ महाधिवेशनबाट उपाध्यक्ष बनेका बादल अहिले संसदीय दलको नेतामा चयन भएसँगै पार्टीभित्र थप प्रभावशाली भूमिकामा पुगेका छन् । अब संसदमा एमालेको भूमिका प्रभावकारी बनाउने, सीमित सिटका बाबजुद सरकार र विपक्षसँग सन्तुलित सम्बन्ध राख्ने तथा पार्टीभित्र एकता कायम गर्ने जिम्मेवारी बादलमाथि आएको छ ।

पछिल्लो राजनीतिक परिदृश्यमा नयाँ शक्ति उदाएको अवस्थामा एमालेको संसदीय रणनीति कस्तो हुन्छ भन्ने चासो बढिरहेको छ । जसको नेतृत्व अब बादलले गर्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.