
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई ‘सचेत’ गराउने भनी गरेको निर्णयप्रति दुःख व्यक्त गरेका छन् ।
काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बसेको बैठकलाई सम्बोधन गर्दै डा. कोइरालाले उक्त निर्णयबाट विचलित नहुन आग्रह गरे ।
पार्टीको अनुशासन समितिले बुधबार मात्रै खड्कामाथि नक्कली लेटर प्याड प्रयोग गरी अनधिकृत वक्तव्य निकालेको आरोपमा सचेत गराउने निर्णय गरेको थियो । सोही सन्दर्भमा बोल्दै कोइरालाले भने, ‘पूर्णबहादुरजीलाई सचेत गराउने निर्णय सुन्दा दुःख लाग्यो, तर यसबाट डराउनुपर्ने कुनै कारण छैन ।’
डा. कोइरालाले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे । उनले नेपाललाई नै समाप्त पार्ने गरी विभिन्न शक्ति केन्द्रहरूबाट चलखेल भइरहेको र त्यसमा नेपाली कांग्रेसकै नेताहरू समेत प्रयोग भइरहेको आरोप लगाए । उनले भने, ‘नेपाल समाप्त पार्ने विभिन्न चलखेल भइरहेका छन्, दुःखको कुरा त्यसमा हाम्रा साथीहरू पनि प्रयोग भएका छन् ।’ यद्यपि, उनले प्रयोग हुने नेताहरूको नाम भने खुलाएनन् ।
डा. कोइरालाले आफूले विशेष महाधिवेशनको माग गर्दा संस्थापन पक्ष र अन्य पक्षले समेत ध्यान नदिएको गुनासो गरे । विशेष महाधिवेशन केन्द्रीय समितिको निर्णयबाट गर्नुपर्थ्यो, तर मैले भनेको कसैले सुन्नुभएन । नसुन्नेहरू यता पनि हुनुहुन्छ, उता पनि हुनुहुन्छ, कोइरालाको टिप्पणी थियो ।
निर्वाचन रणनीतिका विषयमा चर्चा गर्दै उनले बालेन्द्र शाह देशभरि जम्मा २७ मिनेट बोलेर चुनाव जितेको र उनले सबैभन्दा लामो भाषण जनकपुरमा ६ मिनेट मात्र गरेको स्मरण गराए ।
डा. कोइरालाले पार्टीभित्र सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले नेपालमा भएका सबै शक्तिहरूलाई जोगाउन सके मात्रै देश र आफूहरू जोगिने भन्दै आन्तरिक एकताका लागि आह्वान गरे ।
























