निर्वाचनमा पराजयपछि समीक्षा गर्न नेकपा बैठक सुरु

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १९, बिहीबार १२:३२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजन समितिको महत्वपूर्ण बैठक आज (बिहीबार) देखि सुरु भएको छ। पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा गम्भीर छलफल भइरहेको छ।

बैठकका बारेमा जानकारी दिँदै केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले निर्वाचनको नतिजा र आगामी रणनीतिका बारेमा छलफल केन्द्रित रहेको बताए। साबिकको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका २५ वटा विभिन्न राजनीतिक घटकहरू मिलेर बनेको नयाँ ‘नेकपा’ ले कार्यसंयोजन समितिको बैठक बोलाएको यो पहिलो पटक हो।

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा यस पार्टीले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी जम्मा १७ सिटमा विजय हासिल गरेको थियो। वि.सं. २०७० सालको निर्वाचनदेखि निरन्तर तेस्रो स्थानमा रहँदै आएको यो शक्ति यसपटकको निर्वाचनपछि चौथो स्थानमा खुम्चिएको छ।

निर्वाचनमा अपेक्षित नतिजा आउन नसकेपछि फागुन २८ गते बसेको निर्वाचन परिचालन समितिको बैठकले देशभरका १६५ वटै निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो। आजको बैठकमा तिनै प्रतिवेदनहरूका आधारमा हारको कारण र पार्टीको सांगठनिक अवस्थाबारे गहन समीक्षा भइरहेको आचार्यले जानकारी दिए।

पार्टीको अन्तरिम विधानअनुसार ४५ सदस्यीय रहने यस संयोजन समितिमा संयोजक र सहसंयोजक सहित आवश्यक संख्यामा सदस्यहरू रहने व्यवस्था छ। समितिका सदस्यहरूको चयन सहमतिका आधारमा गरिने र यसले पार्टीका आगामी नीति तथा कार्यक्रम तय गर्ने विश्वास लिइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.