कांग्रेसको प्रश्न, ‘प्रतिवेदन लुकाउने कि सार्वजनिक गर्ने ?’

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १९, बिहीबार १६:३८

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सरकारलाई कडा प्रश्न गरेका छन् ।

उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै आयोगको प्रतिवेदन सरकार आफैं सार्वजनिक गर्ने हो कि प्रधानमन्त्रीले समेत गोरखापत्रमै पढ्नुपर्ने अवस्था आउने हो भन्दै व्यंग्यात्मक शैलीमा प्रश्न उठाए । आङदेम्बेले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको कार्यशैलीमाथि गम्भीर आशंका व्यक्त गरे ।

विशेष गरी भदौ २३ र २४ गते भएका घटनाको छानबिनमा आयोगले देखाएको ढिलाइ र अपूर्णताप्रति उनले असन्तुष्टि जनाए । संसद् भवन र सिंहदरबारमा भएको आगजनीजस्ता गम्भीर घटनामा आयोग मौन देखिएको भन्दै उनले प्रश्न गरे, ‘किन जले संसद् भवन ? किन ध्वस्त बनाइयो सिंहदरबार ? यसको जिम्मेवार को हो ?’

उनले ती दुई दिनका घटनालाई फरकफरक ढंगले हेर्ने प्रवृत्तिको समेत आलोचना गरे । उनका अनुसार कसैले २३ गतेको घटनामा मात्र ध्यान दिने र २४ गतेको ध्वंसलाई बेवास्ता गर्ने, वा त्यसको उल्टो गर्ने प्रवृत्ति गलत र पूर्वाग्रही हो । दुवै दिनका घटनालाई समान रूपमा गहिरो अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिए ।

आङदेम्बेले आयोगले समय थप्दै जाने तर काम नसक्ने प्रवृत्ति देखाएको आरोप पनि लगाए । २३ गतेको घटनामात्र अध्ययन गरेर २४ गतेको घटनामा ‘भ्याइएन’ भन्ने आयोगको तर्क अस्वीकार्य भएको उनको भनाइ थियो । यसले आयोगको नियतमाथि नै प्रश्न उठाएको उनले बताए ।

आङदेम्बेले सरकारलाई जिम्मेवार र सुझबुझपूर्ण ढंगले अघि बढ्न आग्रह गरे । दोषी कुनै हालतमा उम्किनु हुँदैन र निर्दोषलाई फसाइनु हुँदैन भन्ने कांग्रेसको स्पष्ट धारणा रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.