‘मेरो भूमिका पक्ष र विपक्ष हैन, निष्पक्ष हुन्छ’

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १९, बिहीबार १७:०३

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा स्वतन्त्र सांसद महावीर पुनले आफ्नो भूमिका पक्ष र विपक्षभन्दा माथि निष्पक्ष रहने स्पष्ट पारेका छन् ।

आफूलाई ‘अचम्मको सांसद’ भन्दै उनले संसदमा आफ्नो प्रवेश असामान्य परिस्थितिबाट भएको टिप्पणी गरे । बैठकमा बोल्दै पुनले भने, ‘म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु, किनभने म फरक छु । बोल्ने तरिका, काम गर्ने तरिका सबै फरक छ । म प्रायः सबैसँग मिल्दिन ।’ उनले आफू समाजसेवी भएको उल्लेख गर्दै भविष्यमा पनि समाजसेवी नै रहने प्रतिबद्धता दोहोर्‍याए ।

अमेरिकामा अध्ययन पूरा गरी २०४९ साल भदौमा नेपाल फर्किएपछि आफूले ३३ वर्ष समाजसेवामा बिताएको उनले बताए । ‘म समाजसेवी हुँ, समाजसेवी नै रहनेछु,’ उनको भनाइ थियो ।

पुनले आफ्नो राजनीतिक यात्रा योजना अनुसार नभएको पनि बताए । ‘म आउनै नपर्ने मान्छे कसरी यहाँ आइपुगे भन्न चाहन्छु,’ उनले भने ।

जेनजी आन्दोलनपछि आफूलाई शिक्षामन्त्री बन्न बोलाइएको उल्लेख गर्दै उनले चार महिनाको कार्यकालमा शिक्षा क्षेत्रमा देखिएका विकृति र राजनीतिकरणको अनुभव साझा गरे । ती समस्या सुधार गर्न विभिन्न विधेयक र नियमावलीको मस्यौदा तयार गरे पनि कामचलाउ सरकारका कारण अघि बढ्न नसकेको उनले बताए ।

उनका अनुसार ती मस्यौदा अहिले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शिक्षा हेर्ने टिमलाई हस्तान्तरण गरिसकिएको छ । संसदमा उनले आफ्नो भूमिका कुनै पक्ष वा विपक्षमा सीमित नभई निष्पक्ष रहने स्पष्ट सन्देश दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.