बादलको अभिव्यक्तिले एमालेभित्र असन्तुष्टि

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १९, बिहीबार २०:३९

काठमाडौं । नेकपा (एमाले)भित्र संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को संसदमा व्यक्त अभिव्यक्तिलाई लिएर असन्तुष्टि देखिएको छ ।

उपाध्यक्ष विष्णु पौडेलले बादलको धारणा पार्टीको स्थापित नीति र मान्यता विपरीत रहेको टिप्पणी गरेका छन् । पौडेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उक्त विषयमा शुक्रबार बस्ने एमाले केन्द्रीय सचिवालय बैठकमा गम्भीर छलफल हुने अपेक्षा व्यक्त गरेका छन् ।

उनले पार्टीको नीति र अनुशासनअनुसार आवश्यक निर्णय लिइने विश्वाससमेत व्यक्त गरेका छन् । प्रतिनिधिसभामा बादलले दिएको अभिव्यक्ति पार्टीको आधिकारिक लाइनसँग मेल नखाएको भन्दै पार्टीभित्र छलफल आवश्यक भएको संकेत उनले गरेका छन् ।

सोही विषयमा एमालेका उपमहासचिव योगेश भट्टराईले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले न्यायालय, कर्मचारीतन्त्र र सुरक्षा निकायप्रति एमालेको कुनै वैरभाव नरहेको स्पष्ट पारेका छन् ।

संसदमा बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चुनावमा जिताउन विभिन्न निकायहरू लागेको जस्तो आशय व्यक्त गरेको प्रसंगपछि पार्टीभित्र असन्तुष्टि बढेको हो । भट्टराईले नेपाली सेना, न्यायालय, संवैधानिक निकाय तथा कर्मचारीतन्त्रप्रति पार्टीको सम्मान र विश्वास निरन्तर रहने बताएका छन् ।

उनले जनमतको सम्मान गर्दै पराजयको समीक्षा गरेर कमजोरी सच्याउँदै अघि बढ्नु नै एमालेको मूलमान्यता भएको पनि उल्लेख गरेका छन् । संसदीय दलका नेता ‘बादल’ को अभिव्यक्तिले पार्टीभित्र आन्तरिक बहस चर्किएको देखिएको छ ।

सचिवालय बैठकमा यस विषयमा विस्तृत छलफल हुने र पार्टीको आधिकारिक धारणा पुनः स्पष्ट हुने अपेक्षा नेताहरुको छ । आगामी निर्णयमार्फत आन्तरिक असन्तुष्टि व्यवस्थापन गरिने नेतहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.