
काठमाडौं । नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अध्ययन गर्ने भएको छ । कांग्रेसले उक्त प्रतिवेदनको विस्तृत अध्ययन गरी पार्टीलाई सुझाव दिन एक विशेष समिति गठन गरेको हो ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको छ । समितिका सदस्यहरूमा कृष्णप्रसाद पौडेल (पूर्व न्यायाधीश), विनोद कार्की (अधिवक्ता), रामचन्द्र गौतम (अधिवक्ता) र यजश्वी राई (युवा अभियन्ता) रहेका छन् ।
सरकारद्वारा गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा उल्लेखित तथ्य, कानुनी पाटो र घटनाको गाम्भीर्यतालाई विश्लेषण गर्दै यो समितिले आफ्नो राय प्रस्तुत गर्नेछ ।
कांग्रेसले समितिलाई प्रतिवेदन अध्ययन गरी आवश्यक सल्लाह र सुझावसहितको प्रतिवेदन पेस गर्न ७ दिनको समय सीमा तोकेको छ । आन्दोलनका क्रममा भएका मानवीय तथा अन्य क्षति र उठेका मुद्दाहरूका विषयमा पार्टीको आधिकारिक धारणा तय गर्न यो अध्ययन समितिको सुझाव महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।
























