
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया आज (शुक्रबार)बाट अघि बढ्दैछ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तर्फबाट उपसभापति डिपी अर्याल (डोलप्रसाद)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीको निर्णयसँगै सभामुख चयन प्रक्रिया अघि बढ्ने छ । बिहीबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।
बैठकमा पार्टी सभापति रवि लामिछानेले औपचारिक रूपमा अर्यालको नाम प्रस्ताव गरेका थिए । जसलाई उपस्थित सांसदहरूले समर्थन जनाउँदै अनुमोदन गरेका हुन् । पार्टी प्रवक्ता मनिष झाले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त निर्णयको जानकारी दिएका थिए ।
नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपा संसदमा दुईतिहाइनजिक छ । सभामुखको उम्मेदवार बनाइएका अर्याल पार्टीभित्र संगठनात्मक रूपमा सक्रिय र अनुभवी नेताका रूपमा चिनिन्छन् ।
पार्टीको उपसभापति रहेका उनी संसदीय अभ्यास र व्यवस्थापनमा पनि परिचित मानिन्छन् । सभामुखजस्तो संवैधानिक र तटस्थ भूमिकामा उनी कति प्रभावकारी बन्न सक्छन् भन्ने कुरा आगामी दिनले देखाउने छ ।
यसैबीच संसद् सचिवालयले सभामुख चयनका लागि औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ । सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । सोही समयसीमाभित्र अर्यालको उम्मेदवारी दर्ता हुनेछ ।
कार्यतालिका अनुसार उम्मेदवारी दर्तापछि आवश्यक प्रक्रिया पूरा गरी आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकले नयाँ सभामुख चयन गर्नेछ । सभामुख पदलाई अत्यन्त संवेदनशील र प्रभावशाली मानिन्छ । संसद् सञ्चालन, विधेयक प्रक्रिया अगाडि बढाउने, दलहरूबीच सहमति कायम गर्ने जस्ता जिम्मेवारी सभामुखको काँधमा हुन्छ ।
























