
काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ सुन्दरीजलबाट चोरीको मोटरसाइकलसहित १ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको चक्रघट्टा गाउँपालिका–५ घर भई हाल काठमाडौँको सुन्दरीजल बस्ने २७ वर्षीय सुजितकुमार सहनीलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२२ प २५६७ नराखी चलाइरहेको अवस्थामा सुन्दरीजल सडक खण्डमा फेला पारी सहनीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त मोटरसाइकल काठमाडौंको जोरपाटीबाट हराएको भनी काठमाडौं–६ का राजु लामाले ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
मोटरसाइकलसहित पक्राउ परेका सहनीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























