
काठमाडौं । नेकपा (एमाले) ले आफ्ना संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभाको पहिलो बैठकमा गरेको सम्बोधन पार्टीको आदर्श र मूल्य मान्यताविपरीत भएको ठहर गरेको छ।
शुक्रबार बसेको पार्टी सचिवालयको करिब ६ घण्टा लामो समीक्षा बैठकले बादलको उक्त अभिव्यक्तिलाई सच्याउँदै एमालेको आधिकारिक धारणा स्पष्ट पारेको हो।
महासचिव शंकर पोखरेलले बैठकपछि विज्ञप्ति जारी गर्दै बादलका तर्कहरू एमालेले लोकतान्त्रिक प्रणालीका लागि अपनाएका मूलभूत एजेन्डाको प्रतिकूल रहेको बताएका छन्।
बादलले संसद्मा प्रधानमन्त्रीलाई व्यङ्ग्यात्मक शैलीमा बधाई दिएको र जनताले दिएको मतलाई ‘षड्यन्त्र’ को कोणबाट व्याख्या गर्दै अपमान गरेको बैठकको निष्कर्ष छ।
एमालेले नेपाली सेना, प्रहरी, कर्मचारी र अन्तर्राष्ट्रिय निकायहरूसँग सधैँ मित्रवत् सम्बन्ध राख्ने नीति लिएको भन्दै बादलको बुझाइमा त्रुटि रहेको औंल्याएको छ।
बैठकमा सहभागी एक शीर्ष नेताका अनुसार बादल एमालेमा आए पनि उनको कार्यशैली र सोच अझै माओवादी पृष्ठभूमिबाट मुक्त हुन नसकेको टिप्पणी भयो।
‘उहाँ एमालेमा त आउनुभयो, तर बुझाइ अझै पुरानै देखियो, उहाँले एमालेका मान्यता बुझ्न बाँकी नै छ,’ ती नेताले भने। सचिवालयका अधिकांश नेताले बादलको अभिव्यक्तिले पार्टीको छविमा आँच पुऱ्याउन सक्ने भन्दै यसलाई नीतिगत रूपमै स्पष्ट पार्नुपर्नेमा जोड दिएका थिए।
एमालेले यस घटनालाई गम्भीरतापूर्वक लिँदै आफ्ना नेताहरूलाई पार्टीको नीति र लोकतान्त्रिक आचरणभित्र रहेर अभिव्यक्ति दिन सचेत समेत गराएको छ।



















