
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी सभापति गगन थापाको ससुरा भएकै कारण आफूले अवसर पाएको भनेर हुने गरेका टिप्पणीप्रति कडा आपत्ति जनाएका छन्। पछिल्लो समय समानुपातिक सांसद चयनको विषयलाई लिएर भइरहेका चर्चाप्रति इङ्गित गर्दै उनले यस्ता कुराले आफूलाई कुनै फरक नपर्ने स्पष्ट पारे।
पार्टीभित्र र लोकतान्त्रिक आन्दोलनमा आफ्नो छुट्टै इतिहास र पहिचान रहेको केसीको दाबी छ। ‘न्युज एजेन्सी नेपाल’ सँगको कुराकानीमा उनले आफू २०१७ साल पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’ विरुद्ध पर्चा बाँड्दादेखि नै जेल परेको स्मरण गराए। राजनीतिक जीवनको सुरुवातदेखि नै सङ्घर्ष गर्दै आएकोले आफ्नो योगदानलाई कसैको नातासँग जोडेर हेर्नु न्यायोचित नहुने उनको तर्क छ।
नेता केसीले पार्टी निर्माण र लोकतन्त्रलाई संस्थागत गर्न आफूले दिएको बलिदानी र योगदानका बारेमा जानकारी नभएकाहरूले मात्र यस्तो टिप्पणी गर्ने बताए। उनले सभापति थापाको ससुराको रूपमा मात्र चिन्नेहरूलाई जवाफ दिइरहनु आवश्यक नरहेको उल्लेख गर्दै आफ्नो राजनीतिक उचाइ आफ्नै सङ्घर्षले बनेको प्रस्ट पारे।
























