एमालेभित्र नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको माग चर्कियो

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २२, आइतबार १४:४३

काठमाडौं । नेकपा (एमाले) भित्र चुनावी पराजय र नेतृत्वको कार्यशैलीलाई लिएर गम्भीर असन्तुष्टि देखिएको छ। चैत २० गते ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा सहभागी हुन पुगेका नेताहरूलाई युवा कार्यकर्ताले फूल दिएर स्वागत गर्दै नेतृत्व पुस्तान्तरणका लागि मार्गप्रशस्त गर्न आग्रह गरे।

अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि बसेको उक्त बैठकमा युवाहरूले पार्टीको सक्रिय भूमिकाबाट पुराना नेताहरूलाई बिदा हुन र नयाँ पुस्तालाई नेतृत्व सुम्पिन दबाब दिएका हुन्। प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको ऐतिहासिक पराजय र पुराना नेताहरूप्रति जनताको घट्दो विश्वासका कारण पार्टी रूपान्तरण अनिवार्य भएको आवाज उठ्न थालेको छ।

एमाले निकट अनेरास्ववियुका नेताहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान समेत सुरु गरेका छन्। प्रत्यक्षतर्फ १६५ मध्ये केवल ९ सिटमा खुम्चिनु र समानुपातिकमा पनि कमजोर नतिजा आउनुले वर्तमान नेतृत्व र कमिटी प्रणालीमाथि प्रश्न उठाएको युवा नेताहरूको ठहर छ।

अनेरास्ववियुका उपमहासचिव कमल जोशीले हालको नेतृत्वप्रति जनताको अविश्वास देखिएकाले विशेष महाधिवेशनको विकल्प नरहेको बताए। सचिवालय बैठकमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ ले संसद्को पहिलो बैठकमा दिएको विवादित अभिव्यक्तिबारे पनि छलफल भएको थियो। थापाले निर्वाचनमा रास्वपाको नतिजाबारे दिएको बयान पार्टीको संस्थागत धारणा नभएको भन्दै बैठकले सच्याएको छ।

एमाले सचिव शेरधन राईले पार्टीभित्र नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठेको स्वीकार गर्दै यसबारे केन्द्रीय कमिटी र सचिवालयमा मात्र गरिने छलफल पर्याप्त नहुने धारणा नेताहरूले राखेको जानकारी दिए।

विशेष महाधिवेशनका लागि अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल, सांसद सुहाङ नेम्वाङ लगायतका युवा नेताहरूले अग्रसरता देखाएका छन्। एमाले विधानको धारा ६९ अनुसार बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यले लिखित माग गरेको ६ महिनाभित्र केन्द्रीय कमिटीले विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

यदि केन्द्रीय कमिटीले महाधिवेशन नबोलाए प्रतिनिधिहरू आफैँ आयोजक कमिटीमा रूपान्तरण भई महाधिवेशन गर्न सक्ने वैधानिक प्रावधान रहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.