
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (सोमबार) बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा संसदीय दलको नेता चयन गर्ने विषय मुख्य एजेण्डा बन्ने सम्भावना रहेको नेताहरूले बताएका छन् ।
दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्का र निस्कल राई लगायतका नाम चर्चामा छन् । यद्यपि, औपचारिक रूपमा उम्मेदवारी घोषणा भने भइसकेको छैन ।
कांग्रेस विधानअनुसार प्रतिनिधिसभाका सांसदहरूले आफूमध्येबाट दलको नेता चयन गर्ने व्यवस्था छ । एकभन्दा बढी उम्मेदवार भएमा गोप्य मतदानबाट निर्णय गरिन्छ । पार्टीभित्र सभापति गगन थापा र तत्कालीन सभापति शेरबहादुर देउवा पक्षबीच प्रतिस्पर्धा रहने भएकाले यसपटक पनि मतदान हुने सम्भावना उच्च देखिएको छ ।
यसअघि सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्य केसीले संसद बैठक सञ्चालन गरिरहेका थिए । रास्वपाका डोलप्रसाद अर्याल (डीपी) सभामुख चयन भइसकेका छन् ।
अन्य दलहरूले भने संसदीय दलका नेता चयन गरिसकेका छन् । तर, प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल कांग्रेसले अझै नेतृत्व टुंग्याउन सकेको छैन । संसदीय दलको नेता संवैधानिक परिषद्को सदस्यसमेत हुने महत्वपूर्ण पद भएकाले यसको चयनलाई विशेष अर्थपूर्ण रूपमा हेरिएको छ ।
पार्टीभित्रको गुटगत प्रतिस्पर्धा र सहमति अभावका कारण कांग्रेसमा विगतजस्तै यसपटक पनि मतदानमार्फत नेतृत्व चयन हुने संकेत देखिएको छ ।
























