
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले सोचेजस्तो नतिजा ल्याउन नसक्नुका कारणहरू औँल्याएका छन्। पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा सोमबार बसेको कार्य संयोजन समितिको बैठकमा उनले पार्टी एकता पछिका कमजोरीहरूका बारेमा लिखित दस्ताबेज नै पेस गरेका हुन्।
खनालले नेकपा घोषणा गरिए पनि त्यसलाई सही ढङ्गले साङ्गठनिक स्वरूप दिन नसकिएको र एकताका बेला गरिएका प्रतिबद्धताहरू लागू नभएको बताए। उनले मार्क्सवाद-लेनिनवाद, वैज्ञानिक समाजवाद र क्रान्तिकारी कार्यदिशा जस्ता सैद्धान्तिक कुराहरू सही भए पनि तिनलाई व्यवहारमा उतार्ने ठोस योजना नहुँदा समस्या आएको जिकिर गरे। २०-२५ वटा समूहलाई एकतामा ल्याइए पनि सही कार्यदिशाका आधारमा उनीहरूलाई सङ्गठित गर्ने प्रयास नगरिएको उनको भनाइ छ।
उनले बुँदागत रूपमा पार्टीका कमजोरीहरू प्रस्तुत गर्दै नेतृत्वदायी ‘कोर टिम’ नबन्नु र एकीकृत अभियान समयमै सुरु हुन नसक्नुलाई मुख्य कारण मानेका छन्। खनालका अनुसार सन्देश सभा गर्नुको सट्टा सिधै एकीकरण प्रक्रिया टुङ्ग्याउनुपर्थ्यो तर एकता पछिको तीन महिनाको महत्त्वपूर्ण समय सदुपयोग हुन सकेन।
समिति प्रणालीको अभाव, जनसङ्गठनहरूको परिचालनमा सुस्तता र चुनावी अभियान कसका विरुद्ध लक्षित हो भन्ने स्पष्ट नहुँदा युवाहरूलाई समेत समेट्न नसकिएको उनले उल्लेख गरे। चुनावी अभियान सञ्चालनका लागि प्रभावकारी संयन्त्र नबन्नु नै हारको एउटा प्रमुख कडी भएको खनालको ठहर छ।
























