
विराटनगर । नेपाल ट्रेड युनियन कांग्रेसले संविधानमा नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरिएकाले ट्रेड युनियन खारेज नहुने बताएको छ ।
युनियनले मंगलबार पत्रकार सम्मेलन गरी नेपालको संविधानको धारा ३४ (३) ले श्रमिकलाई ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हकको ग्यारेन्टी गरेकाले ट्रेड युनियन खारेज नहुने स्पष्ट पारेको हो । युनियनका अध्यक्ष योगेन्द्रकुमार कुँवरले शासकीय सुधारका दृष्टिले सरकारले ल्याएका कार्यक्रम राम्रा भएपनि बुँदा नम्बर १२ मा ट्रेड युनियन खारेज गर्ने निर्णय श्रमिकलाई मान्य नहुने बताए ।
‘हामीले दलीय ट्रेड युनियन हुनुपर्छ भनेका छैनौँ । ट्रेड युनियन खारेज गर्नुपर्छ भन्ने निर्णयमा हाम्रो आपत्ती हो,’ उनले भने । स्वतन्त्र तथा पेसागत ट्रेड युनियन आन्दोलनको पक्षमा नेपाल ट्रेड युनियन कांग्रेस सधैँ रहेको उनको भनाइ छ ।
दलीय ट्रेड युनियनका नाममा सबै ट्रेड युनियन अधिकारलाई संकुचन गर्न खोजिएको उनले बताए । नेपालको श्रम ऐन, ट्रेड युनियन ऐनअनुसार नेपालको ट्रेड युनियन आन्दोलन चलिरहेको उनको भनाइ थियो ।
युनियनका महासचिव अजयकुमार राईले सरकारले ट्रेड युनियन खारेजसम्बन्धी गरेको निर्णय नेपालको संविधान र अनुमोदित अन्तर्राष्ट्रिय महासन्धिविपरीत रहेको बताए । ‘सरकारको यो घोषणाले अन्तर्राष्ट्रिय ट्रेड युनियन क्षेत्र तरंगीत भएको छ,’ महासचिव राईले भने, ‘नेपालको ट्रेड युनियन आन्दोलनप्रति अन्तर्राष्ट्रिय ट्रेड युनियनहरुले ऐक्यबद्धता जनाएका छन् ।’
उनले ट्रेड युनियन आन्दोलनमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै सामाजिक संवाद र सौदाबाजीको माध्यामबाट उत्पादकत्व वृद्धि, गुणस्तरीय उत्पादन तथा सेवा र मर्यादित कामप्रति नेपाल ट्रेड युनियन कांग्रेस प्रतिबद्ध रहेको बताए । नेपाल ट्रेड युनियन कांग्रेसले संविधानको मर्म र अन्तर्राष्ट्रिय श्रम मापदण्डको मान्यताको सम्मान गर्दै स्वतन्त्रता माथि अंकुश लगाउने निर्णय, न्यूनतम पारिश्रमिक बोर्डको खारेजी र सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यामबाट मात्र प्रकाशन गर्ने निर्णय फिर्ता लिन समेत सरकारसँग माग गरेको छ ।



















