जेनजी आन्दोलनलाई लिएर बादलको सनसनीपूर्ण दाबी, उठाए टीओबी र दलाई लामाको प्रसंग

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २५, बुधबार १९:०४

काठमाडौं । नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका नाममा भएका घटनाहरू योजनाबद्ध रूपमा डिजाइन गरिएको दाबी गरेका छन् ।

कास्कीमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ती घटनालाई आकस्मिक नभई पूर्वनियोजित राजनीतिक रणनीतिको हिस्सा भएको संकेत गरेका हुन् । उक्त भेलामा सम्बोधन गर्दै बादलले जेनजी आन्दोलनलाई लिएर सनसनीपूर्ण दाबी गरी टीओबी र दलाई लामाको प्रसंग उठाएका छन् ।

Advertisement

बादलले आफ्नो सम्बोधनमा ‘टीओबी’ नामक समूहको गतिविधि, ‘फ्री तिब्बत’ नारा र तिब्बती धार्मिक नेता दलाई लामासँग जोडिएको प्रसंग उठाउँदै विभिन्न प्रश्नहरू गरेका थिए । उनले दलाई लामाले कथित रूपमा ‘बारबरा सरकार’लाई दिएको शुभकामनाको विषयसमेत उल्लेख गर्दै त्यसलाई गम्भीर रूपमा विश्लेषण गर्नुपर्ने बताए ।

उनका अनुसार यी सबै घटनाक्रमहरू सामान्य नभई एउटै योजनाअन्तर्गत जोडिएको हुन सक्ने आशंका गर्नुपर्ने अवस्था छ । उनको प्रश्न छ, ‘फ्री तिब्बतको नारा किन उठाइयो ? टीओबीहरू किन देखिए ? दलाई लामाले किन शुभकामना दिए ?’ घटनाहरूलाई अलग–अलग नभई एउटै सन्दर्भमा बुझ्नुपर्ने उनको भनाइ छ ।

बादलले लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताजस्ता राजनीतिक उपलब्धिहरूमाथि अहिले विभिन्न कोणबाट प्रहार भइरहेको टिप्पणी पनि गरे । नेपालमा स्थापित राजनीतिक प्रणाली कमजोर पार्ने प्रयास भइरहेको भन्दै उनले त्यसमा बाह्य शक्तिहरूको भूमिका हुन सक्ने बताए ।

उनले २०७४ सालदेखि एमाले नेतृत्वमा देशको आर्थिक वृद्धि ७ प्रतिशतभन्दा माथि पुगेको दाबी गर्दै त्यस समयमा विकास तीव्र गतिमा अघि बढेको बताए । साथै, नाकाबन्दीको समयमा नेपालले राष्ट्रिय स्वाभिमानका साथ चट्टानझैँ उभिएको स्मरण गर्दै एमाले र अन्य दलहरूको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रममा उनले भदौ २३–२४ को घटनामा राजनीतिक दलका कार्यालय र शीर्ष नेताहरूका निवासहरूमा आक्रमण भएको उल्लेख गर्दै ती सबै घटनाहरू आकस्मिक नभई लामो तयारीका साथ गरिएको हुन सक्ने दाबी दोहोर्याए । उनले एमाले, माओवादी र कांग्रेसका संरचनामाथि भएको आक्रमणलाई उदाहरण दिँदै ‘किन लक्षित भयो ?’ भन्ने प्रश्न उठाए ।

बादलले यस्ता घटनाहरूले नेपालको राजनीतिक स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको भन्दै विस्तृत अनुसन्धान आवश्यक रहेको संकेत पनि गरे । उनका अनुसार राजनीतिक असहमति सामान्य भए पनि हिंसात्मक गतिविधि र संरचनामाथिको आक्रमण योजनाबद्ध हुन सक्ने आशंका गम्भीर विषय हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.