
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र ध्रुवीकरणले चरम रूप लिएपछि पार्टी विभाजनको खतरा बढेको छ। कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालत पुगेसँगै नियमित महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधरबीचको दूरी थप गहिरिएको हो।
पार्टीभित्रको यो संकट समाधानका लागि वरिष्ठ नेता डा. शेखर कोइरालाले सक्रियता देखाएका छन्। मंगलबार कोइरालाको सम्पर्क कार्यालयमा बसेको उनी निकट नेताहरूको झण्डै ४ घण्टा लामो बैठकले दुवै पक्षसँग संवाद गरेर सहमति खोज्ने निर्णय गरेको छ। कोइरालाले आफू कुनै पदमा नरहे पनि पार्टी विभाजन हुन नदिने अडान राख्दै आएका छन्।
बैठकले दुवै पक्षसँग संवाद गर्न छुट्टाछुट्टै टोली समेत गठन गरेको छ। १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षसँग छलफलका लागि डा. मिनेन्द्र रिजाल र गोविन्द पोखरेललाई जिम्मेवारी दिइएको छ भने विशेष महाधिवेशन पक्षधर गगन थापा समूहसँग संवादका लागि बद्री पाण्डे र जीवन परियारलाई तोकिएको छ।
बैठकमा डा. कोइरालाले वर्तमान परिस्थितिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो बढेकाले पार्टी एकता अपरिहार्य रहेको बताएका थिए। त्यस्तै नेता शशांक कोइरालाले पनि कांग्रेसको इतिहास र साख जोगाउन सहमतिमै जानुपर्नेमा जोड दिएका छन्।
यता, विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले भने १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी आफ्नो तयारी अघि बढाइसकेको छ। यसले गर्दा दुई पक्षबीचको संवाद र सहमतिको प्रयास कति सफल हुन्छ भन्ने चासो कांग्रेस वृत्तमा बढेको छ। सभापति थापा भने आफ्नै नेताहरूलाई मिलाउन नसक्दा तनाव र अलमलमा परेको स्रोतको दाबी छ।



















